२४ जेठ २०८३, आइतबार

नेपाल टेलिकमको प्याकेज खरिद गरेका ग्राहकले ‘पेजी’ सुविधा आफैं सक्रिय/निष्क्रिय गर्न सक्ने

चैत २५, २०८२
काठमाडौं
नेपाल टेलिकमको प्याकेज खरिद गरेका ग्राहकले ‘पेजी’ सुविधा आफैं सक्रिय/निष्क्रिय गर्न सक्ने

नेपाल टेलिकमको प्याकेज खरिद गरेका ग्राहकले ‘पेजी’ सुविधा आफैं सक्रिय वा निष्क्रिय गर्न सक्ने भएका छन् ।​​

जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध गराएको डाटा सुविधा ग्राहकहरूले प्याकेज खरिद गरेर वा प्याकेज खरिद नगरी नियमित शुल्क भुक्तानी गरी (Pay-As-You-Go, PayG) प्रयोग गरिरहेकोमा अब प्याकेज खरिद गरेका ग्राहकहरूले आफैं पेजी सुविधा सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था गरिएको हो ।

यसका लागि ग्राहकले आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

उनका अनुसार *४४४# डायल गरेपछि ४ नम्बर छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि यो सुविधा सक्रिय वा निष्क्रिय गर्न र यसको अवस्था थाहा पाउन क्रमशः १, २ र ३ थिच्नु पर्ने प्रवक्ता मानन्धरले जानकारी दिए ।

नेपाल टेलिकमले ग्राहकहरूको माग बमोजिम विभिन्न प्रकारका आकर्षक डाटा प्याकेज उपलब्ध गराइरहेको छ ।

डाटा प्याकेज खरिद गरी सेवा उपभोग गर्ने ग्राहकहरूको सन्दर्भमा डाटा भोल्युम ८० प्रतिशत खपत भएको अवस्थामा, डाटा भोल्युम समाप्त भएपश्चात् वा डाटा प्याकेजको समयावधि समाप्त भएपश्चात् ग्राहकहरूलाई जानकारी दिन एसएमएस पठाउने व्यवस्था मिलाइएकोमा अब ९० प्रतिशत खपत भएपश्चात् एसएमएस मार्फत जानकारी गराइने छ ।

डाटा प्याकेजको भोल्युम वा समयावधि समाप्त भएपश्चात् ग्राहकहरूले डाटा सेवाको प्रयोग निरन्तर राखेमा मेन ब्यालेन्सबाट डाटा चल्ने र चलेको भोल्युम अनुसार शुल्क काटिने व्यवस्था थियो ।

प्याकेज खरिद गरेका ग्राहकहरूले पेजी सुविधा पहिले नै निष्क्रिय गराएको अवस्थामा प्याकेज सकिए पछि मेन ब्यालेन्सबाट डाटा चल्ने छैन । प्याकेज नलिई डाटा चलाउन आवश्यक भएका ग्राहकहरूले भने यो सुविधा सक्रिय राख्न सक्नु हुनेछ ।

यसरी डाटा सेवा निरन्तर प्रयोग गर्दा पेजीमा नजाने व्यवस्थाका लागि विभिन्न माध्यमबाट अनुरोध गरिएको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनाको बुँदा नम्बर ४ मा समेत 'Pay-As-You-Go' निष्क्रिय गर्ने विकल्प दिइने’ भन्ने उल्लेख छ । मन्त्रालयको निर्देशन अनुसार पनि कम्पनीले 'Pay-As-You-Go' निष्क्रिय गर्ने विकल्प उपलब्ध गराएको हो ।

आगामी दिनमा नेपाल टेलिकम एपबाट समेत यो सेवा सक्रिय वा निष्क्रिय गर्न सकिने विकल्प क्रमशः उपलब्ध हुनेछ ।​

३० दिनको प्याक

प्रिपेड मोबाइलमा उपलब्ध गराइएका प्याकेजहरूको समयावधि २८ दिनको सट्टा ३० दिन कायम हुनुपर्ने माग भए बमोजिम हाल ‘प्रिपेड कम्बो २९९’ प्याक सञ्चालनमा ल्याइएको छ ।

२९९ रुपैयाँमा उपलब्ध हुने उक्त प्याक प्रयोग गरी सबै नेटवर्कमा ३०० मिनेट कल गर्न, ४ जीबी डाटा चलाउन र कम्पनीको नेटवर्कमा २० वटा एसएमएस पठाउन सकिने प्रवक्ता मानन्धरले जानकारी दिए ।

उनका अनुसार आगामी दिनमा ३० दिन समयावधिका अन्य प्याकहरू क्रमशः ल्याउने योजनामा टेलिकम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्