
नेकपा एमालेले सत्तापक्षका सांसदले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अपराधीको संज्ञा दिएको भन्दै नियमापत्ति गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद गुरू बरालले पूर्वप्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक शब्द बोलिएको भन्दै नियमापत्ति गरेका हुन् ।
‘शून्य समयमा बोल्ने क्रममा सत्ता पक्षको सदस्यले हाम्रो पार्टीको अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीलाई अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेर अपराधीको संज्ञा दर्ज गर्नुभयो,’ बरालले भने, ‘अपराधी करार गर्ने यो संसद् होइन, अपराधी त न्यायालयले करार गर्छ ।’
यसअघि रास्वपा सांसद पुरुषोत्तम यादवले ओलीलाई कारागारमा हुने अपराधीले अस्पतालबाट संसद्मा कुसन्देश प्रवाह गरेको आरोप लगाएका थिए ।
यादवले ओलीलाई छलेको भूतले रामबहादुर थापा 'बादल'लाई पनि छलेको भनेर दिएको प्रतिक्रियामा समेत एमालेले आपत्ति जनाएको छ ।
‘प्रतिनिधिसभामार्फत धामी झाँक्रीको माग गर्नुभएको छ, प्रतिनिधिसभा अन्धविश्वासमा विश्वास गर्ने यस खालको अपमानजनक शब्द प्रयोग गर्ने ठाउँ होइन,’ बरालले भने ।
बरालले यस खालको शब्द संसद्को रेकर्डबाट हटाउन र फिर्ता गर्न माग गरे । एमालेको नियमापत्तिप्रति सभामुख डोलप्रसाद (डीपी) अर्यालले ध्यानाकर्षण भएको बताए ।