
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवालाई पक्राउका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको समाचार बाहिरएको छ ।
बुधबार दिउँसो बाहिरिएको यो विषयले राजनीतिक वृत्तमा तंरग ल्याएको छ ।
विश्वस्त स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि मंगलबार काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीलाई पक्राउ गर्न अनुमति दिएको हो ।
यतिबेला उपचारका लागि भन्दै देउवा दम्पती विदेशमा छन् । शुरूमा सिंगापुर गएका उनीहरू हाल हङकङमा रहेको बताइएको छ । उनीहरू कहिले नेपाल आउने टुंगो छैन ।
सहयोगी भानु देउवाले देउवा दम्पती स्वदेश फर्कने विषय आफूलाई थाहा नभएको बताए । ‘मेरो पनि यस विषयमा कुरा हुन पाएको छैन । उहाँहरू कहिले नेपाल आउने जानकारी छैन‚’ भानुले लोकान्तरसँग भने ।
देउवा दम्पती विदेशमै रहँदा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ अनुमति लिएको हो । सरकारले यसअघि बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने कार्य रोकेको थियो ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा देउवा निवासमा पैसा जलेको विषय बाहिर आएको थियो । विभागले के कति आधारमा पक्राउ अनुमति लिएको भन्ने विषय बाहिरिएको छैन ।
देउवा पक्ष भन्छ- 'प्रतिशोध हो भने ठीक हुँदैन'
शेरबहादुर देउवा नेपाली कांग्रेसका पूर्व सभापति हुन् । १३औँ र १४औँ महाधिवेशन जित्दै उनले दुई कार्यकाल सभापति चलाए ।
२३ र २४ भदौको जेनजी विद्रोहलाई आधार बनाएर २७ देखि ३० पुससम्म विशेष महाधिवेशन गर्दै गगन थापा तथा विश्वप्रकाश शर्माहरूले देउवालाई नेतृत्वबाट ‘लखेटे’का हुन् ।
यतिमात्र होइन, देउवा पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका पहिलो निर्वाचित सभापति पनि हुन् ।
उनी पाँचपटक प्रधानमन्त्री हुँदा सातपटक डडेलधुराबाट लगातार निर्वाचित भएका नेता हुन् । यस्तै, देउवापत्नी आरजु राणा पनि पार्टी केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री हुन् ।
उनै देउवा दम्पतीमाथि वर्तमान सरकार र राज्यसंयन्त्रले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थाल्दा नेपाली कांग्रेसले कस्तो कदम चाल्छ ? भन्ने प्रश्न उठेको छ ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा विशेष महाधिवेशनबाट निर्वाचित भएका धेरै केन्द्रीय नेताहरू बोल्न चाहेनन् । उनीहरूले देउवा दम्पतीको विषयमा बोल्दा जनताबाट गाली खानुपर्ने हुन्छ भन्नेसम्मका अभिव्यक्ति अनौपचारिक संवादमा दिए ।
सहमहामन्त्री योगेन्द्र चौधरीले सभापति गगनकुमार थापा आज जनकपुर गएको र थापा फर्किएपश्चात् पार्टीभित्र संवाद गरेर धारणा निर्माण गरिने बताए ।
यसअघि जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा पार्टी नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ पर्दा कांग्रेस बोलेको थिएन । यतिसम्म कि उसले लेखकलाई नेता मान्न समेत तयार भएन ।
लेखकको विषयमा एमालेले निरन्तर बोल्दिँदा कांग्रेस सभापति गगनकुमार थापा र उनको सिङ्गो कार्यसमिति चुप लागेर बसेको छ ।
कांग्रेसले लेखकबारे बोल्न डराएको छ । यस्तो अवस्थामा कांग्रेस पूर्व सभापतिको विषयमा बोल्छ त ? भन्ने चासो स्वभाविक हो ।
उक्त प्रश्नको जवाफ दिँदै सहमहामन्त्री चौधरी मुलुककै पूर्व प्रधानमन्त्रीलाई सरकारले गरेको व्यवहार र लिन खोजेको एक्सनमा पार्टीले धारणा बनाउने बताउँछन् ।
‘जोसुकै होस्, सबैलाई अनुसन्धानको दायरमा ल्याउनुपर्छ । तर, कानूनको परिधिभित्र रहेर हुनुपर्छ भन्ने प्रारम्भदेखि नै हाम्रो कुरा हो‚’ चौधरीले भने‚ ‘सबै कुरा प्रक्रियागत ढंगले हो भने स्वभाविक होला । यद्यपि हामीले यस विषयमा धारणा बनाइसकेका छैनौं । धारणा बनाएर स्पष्टसँग हाम्रो मत सार्वजनिक गर्छौं ।’
चौधरी वर्तमान सरकारको रवैया हेर्दा पुराना दलकेन्द्रित प्रतिशोधको भावमा अघि बढेको देखिन थालेको बताउँछन् ।
उनले सुशासन कायम गर्नका लागि सरकार अघि बढेको हो भने आफ्नै दलभित्र रहेका मानिसहरूलाई पनि कारबाही प्रक्रिया अघि बढाउन रास्वपालाई चुनौती दिए ।
यस्तै, कांग्रेस नेता गुरु बरालले वर्तमान सरकारले आफ्नो पार्टीका सर्वोच्च नेताको विषयमा देखाएको व्यवहारमा प्रतिशोधको गन्ध स्पष्ट रूपमा आउन थालेको बताए ।
कांग्रेसले कानूनी राज्यमा विश्वास गर्ने भन्दै उनले भने- ‘प्रतिशोध हो भन्ने थाहा छ । सबै कुरा बाहिर आइसकेको छैन । प्रक्रियासंगत रहेछ भने कानूनभन्दा ठूलो कोही छैन ।’
यस्तै, अर्का नेता रामहरि खतिवडाले पनि यस विषयमा पार्टी बोल्ने र बोल्नै पर्ने बताए । साथै, सबै कुरा बाहिर नआएको भन्दै उनले छलफल गरेर धारणा तय गर्नुपर्ने बताए ।
‘सरकार पूर्वाग्राही रूपमा लाग्नुहुँदैन । नियम–कानूनसम्मत नै जानुपर्छ‚’ खतिवडाले लोकान्तरसँग भने‚ ‘के आधार हो, भएको के हो भन्ने सबै विषय आएपश्चात् पार्टीले धारणा बनाएर अघि बढ्छ नै ।’