
पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) प्रतियोगिताको तयारी पूरा भएको छ ।
‘जाग्छ पोखरा दौडाउँछ पोखरा’ भन्ने नारासहित शनिबार साँझ ७ बजे बराहीघाटबाट शुरू हुने उक्त प्रतियोगितामा नेपालसहित नर्वे र फ्रान्सका गरी एक सयभन्दा बढी धावकको सहभागिता रहने आयोजक पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ ।
प्रतियोगिता सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) मा पुगेर समापन हुने बताइएको छ ।
प्रतियोगितामा खुला, महिला, विदेशी तथा यू–१६ गरी चार विधा समावेश गरिएको छ । खुलातर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् । अन्य विधाका विजेतालाई जनही सात हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताले पोखरामा खेलकुद पर्यटन प्रवर्द्धनसँगै पोखराको रात्रिकालीन सडक पनि पर्यटन प्रबर्द्धनका लागि सुरक्षित छ भन्ने सन्देश दिने विश्वास आयोजकले लिएको छ ।
धावकहरूलाई हेडल्याम्पसहित सहभागी हुन आयोजकले आग्रह गरेको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा वडा नम्बर ९ कार्यालयको समन्वय र विभिन्न संघ–संस्थाको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।