
सुशान्त प्रजापति र सौभव बिष्टलाई च्याम्पियन बनाउँदै बागमती प्रदेशस्तरीय जुनियर ब्याडमिन्टन प्रतियोगिता–२०८२ शनिबार सकिएको छ ।
बलम्बुस्थित आयोजक बलम्बु ब्याडमिन्टन क्लबको हलमा खेलाइएको खेलमा यू–१५ ब्वाइजतर्फ प्रजापति र यू–१३ ब्वाइजतर्फ बिष्ट च्याम्पियन बनेका हुन् ।
दुई दिने उक्त प्रतियोगिताको शनिबार सम्पन्न यू–१५ स्पर्धाको फाइनलमा काठमाडौंका प्रजापतिले ललितपुरका रिजन मगरलाई पराजित गर्दै उपाधि चुमेका हुन् ।
प्रजापति र मगरबीचको फाइनल खेल निकै प्रतिस्पर्धात्मक रह्यो । पहिलो सेटमा प्रजापति २१–९ अंकले अगाडि रहे । दोस्रो सेटमा प्रजापतिको खुट्टामा केही समस्या देखिएको थियो ।

दोस्रो सेटको नतिजालाई मगरले २१–१६ अंकले आफ्नो पक्षमा पारे । तेस्रो सेट झनै प्रतिस्पर्धात्मक बनेको थियो । तेस्रो सेटको नतिजालाई २१–१७ ले आफ्नो पक्षमा पार्दै प्रजापति च्याम्पियन बने ।
त्यसअघि, सेमिफाइनल खेलमा प्रजापतिले दोलखाका अर्नभ श्रेष्ठलाई र मगरले सिन्धुलीका दीप थिङलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए ।
यसैगरी, शनिबार नै खेलाइएको यू–१३ ब्वाइजतर्फको फाइनल खेलमा काठमाडौंका बिष्टले चितवनका ग्याब्रियल लामालाई सोझो सेटमा हराउँदै उपाधि चुमेका हुन् ।
बिष्टले पहिलो सेटको नतिजालाई २१–१५ अंकले आफ्नो पक्षमा पारेका थिए । उनले दोस्रो सेटको नतिजालाई पनि २१–१२ अंकले आफ्नो पक्षमा पारे ।

त्यसअघि, सेमिफाइनलमा लामाले काठमाडौंका क्रिमुन रिजाललाई र बिष्टले दोलखाका अर्नभ श्रेष्ठलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए ।
विजयी खेलाडीलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामा, चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन, बलम्बु ब्याडमिन्टन क्लबका अध्यक्ष राजेन्द्र महर्जन, राखेपका ब्याडमिन्टनका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्रबहादुर थिङलगायतले ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा भुटानमा आयोजित दक्षिण एसिया क्षेत्रीय जुनियर ब्याडमिन्टन च्याम्पियनसिप–२०२५ मा पदक जितेर देशको गौरव बढाएवापत बागमती प्रदेशका युवा खेलाडी दीप थिङलाई दोसल्ला ओढाएर नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

भुटानमा आयोजित प्रतियोगितामा थिङले चारवटा पदक जितेका थिए । उक्त प्रतियोगितामा उनले देशका लागि तीन विधामा रजत पदक र एक विधामा कांस्य पदक जितेका थिए ।
पुरस्कार वितरण समारोहमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव लामाले प्रदेशभित्र जुनियर खेलाडीको प्रतिभा विकासमा परिषद् गम्भीर भएर लागेको बताए ।
‘अन्तर्राष्ट्रिय पदक जितेर देशको गौरव बढाउने खेलाडी उत्पादनको थलो भनेकै स्थानीय स्तरमा आयोजना हुने जुनियर प्रतियोगिता हुन् । त्यसैले जुनियर प्रतियोगिता र युवा खेलाडीको प्रतिभा विकासलाई हामीले विशेष प्राथमिकता दिएका छौं,’ उनले भने ।

सदस्य–सचिव लामाले नेपाली खेलकुदमा खेलाडीको विषयमा वैज्ञानिक अध्ययन–अनुशन्धानको कमी रहेको बताउँदै यसतर्फ परिषद् गम्भीरतापूर्वक लागेका पनि बताए । ‘खेलाडीको विषयमा वैज्ञानिक तरिकाले अध्ययन–अनुसन्धान आवश्यक छ । यसमा पनि हामी स्पष्ट नीति बनाएर अगाडि बढ्दैछौं,’ उनले भने ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले युवा खेलाडीको क्षमता अभिबृद्धिमा नगरपालिका र वडाले आगामी दिनमा पनि सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
ब्याडमिन्टनका प्रमुख प्रशिक्षक सुदीप योञ्जनले प्रतिभाशाली खेलाडीको संरक्षण गर्न र खेलाडीलाई प्रोत्साहन गर्न सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए ।

आयोजक क्लबका अध्यक्ष राजेन्द्र महर्जनले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे ।
बलम्बु ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा चितवन, भुक्तपुर, नुवाकोट, ललितपुर, काठमाडौं, दोलखा, धादिङ, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाका कूल जुनियर खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितालाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले आर्थिक सहयोग र बागमती प्रदेश ब्याडमिन्टन संघले प्राविधिक सहयोग गरेको आयोजकले जनाएको छ । प्रतियोगिताको मिडिया पार्टनरका रूपमा भने लोकान्तर डट्कम रहेको थियो ।





