०५ साउन २०८३, मंगलबार
इरान-अमेरिका वार्ता

अमेरिका-इरान वार्ता भाँडिएको हो कि बाँकी छ सहमतिको सम्भावना ?

चैत २९, २०८२
काठमाडौं

अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्न भएको लामो वार्ता विनानिष्कर्ष टुंगिएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा आइतबार सम्पन्न २१ घण्टे वार्तामा सहमति हुन नसक्दा केही दिनअघि मात्रै गरिएको युद्धविराम समेत जोखिममा परेको छ ।

छ हप्ताभन्दा बढी समयदेखि जारी द्वन्द्वमा हजारौंको ज्यान गएको छ भने विश्वव्यापी रूपमा तेलको मूल्य तीव्र रूपमा बढेको छ । वार्ता असफल हुनुका लागि दुवै पक्षले एकअर्कालाई दोष दिएका छन् ।

अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख तथा उपराष्ट्रपति जेडी भान्सले वार्ता निष्कर्षमा नपुगेको स्वीकार गर्दै यो विशेषगरी इरानका लागि नकारात्मक भएको बताएका छन् । उनले अमेरिकाले आफ्ना ‘रेड लाइन’ स्पष्ट रूपमा राखेको र इरानले ती सर्तहरू स्वीकार नगरेको दाबी गरे ।

उनका अनुसार अमेरिकाको मुख्य चासो इरानले आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनु हो । 'इरानले आणविक हतियार नबनाउने मात्र होइन, त्यसका लागि आवश्यक संरचना पनि विकास नगर्ने सुनिश्चितता चाहिन्छ,' उनले भने ।

वार्तापछि दुवै देशका प्रतिनिधिमण्डल स्वदेश फर्किएको पाकिस्तानी स्रोतले जनाएको छ । यो भेटवार्तालाई एक दशकभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष संवाद तथा सन् १९७९ को इरानीयन इस्लामिक रिभोलुसनपछिको उच्चस्तरीय वार्तामध्ये एक मानिएको थियो ।

इरानको अर्धसरकारी समाचार संस्था तस्मिन न्युज एजेन्सीले अमेरिकाको 'अत्यधिक माग'का कारण सहमति हुन नसकेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार केही विषयमा सहमति भए पनि हर्मुज जलमार्ग र इरानको आणविक कार्यक्रम मुख्य विवादका विषय बनेका थिए ।

इरानको विदेश मन्त्रालयका प्रवक्ताले वार्ता अविश्वासपूर्ण वातावरणमा भएको भन्दै एकै चरणमा सहमति हुने अपेक्षा नगरेको बताएका छन् ।

पाकिस्तानका विदेशमन्त्री इसाक डारले मंगलबार सहमति भएको दुई साता लामो युद्धविराम कायम राख्नु अत्यावश्यक रहेको बताएका छन् । यो युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको थियो ।

यसैबीच, इजरायलका सुरक्षा क्याबिनेट सदस्य जीभ एल्किनले वार्ता अझै सम्भव रहेको संकेत दिए पनि इरानले 'आगोसँग खेलिरहेको' चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका क्रममा पटक–पटक अपडेट लिएको बताइएको छ । तर, उनले सम्झौता अपरिहार्य नभएको संकेत गर्दै 'सम्झौता होस् वा नहोस्, हामी जितिसकेका छौं' भन्ने धारणा सार्वजनिक गरेका थिए ।

वार्तामा अमेरिकी पक्षबाट विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर सहभागी थिए भने इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बाकेर कालीबाफ र विदेशमन्त्री अब्बास अराघ्ची सहभागी थिए ।

इरानले कतार लगायतका विदेशी बैंकमा रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नुपर्ने, हर्मुज जलमार्गमा नियन्त्रण कायम रहनुपर्ने, युद्धको क्षतिपूर्ति र क्षेत्रीय युद्धविरामको माग राखेको छ । तर, अमेरिकी अधिकारीहरूले रोक्का सम्पत्ति फुकुवा गर्ने विषयमा सहमति भएको दाबी अस्वीकार गरेका छन् ।

युद्धविरामका बाबजुद पनि हर्मुज जलमार्ग हुँदै शनिबार तीनवटा तेल बोकेका ठूला ट्यांकर बाहिरिएको तथ्यांकले देखाएको छ, जुन युद्ध शुरू भएयताको पहिलो निकास मानिएको छ । तर, अझै सयौं ट्यांकर खाडी क्षेत्रमा रोकिएका छन् ।

अमेरिकाको न्यूनतम् लक्ष्य भनेको हर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय ढुवानी स्वतन्त्र बनाउनु र इरानको आणविक कार्यक्रमलाई सीमित गर्नु रहेको छ । इरानले भने आफूले आणविक हतियार बनाउन नखोजेको दाबी गर्दै आएको छ ।

यसबीच, लेबनानमा इरान समर्थित हेज्बुल्लाहविरुद्ध इजरायलले आक्रमण जारी राखेको छ । इजरायलले उक्त द्वन्द्व अमेरिका–इरान युद्धविरामको हिस्सा नभएको बताएको छ भने इरानले लेबनानमा पनि युद्ध रोक्नुपर्ने अडान राखेको छ ।

इजरायली सेनाले लेबनानको राजधानी बेरुत आसपासका रकेट प्रक्षेपण स्थलमा आक्रमण गरेको जनाएको छ । सीमा नजिकका इजरायली गाउँहरूमा हवाई आक्रमणको चेतावनी दिने साइरन समेत बजाइएको थियो ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्