२९ असार २०८३, सोमबार
मध्यपूर्वमा पुनः संकटको संकेत

इरानी जलमार्गमा 'नाकाबन्दी' गर्ने ट्रम्पको घोषणा, तेलको मूल्यमा पुन: उछाल

चैत ३०, २०८२
काठमाडौं
इरानी जलमार्गमा 'नाकाबन्दी' गर्ने ट्रम्पको घोषणा, तेलको मूल्यमा पुन: उछाल

पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच तनाव कम गर्ने उद्देश्यले आयोजना गरिएको उच्चस्तरीय शान्ति वार्ता बिनानिष्कर्ष टुङ्गिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिएका छन् । उनले हर्मुज जलमारगबाट गुज्रने हरेक जहाजमाथि नाकाबन्दी गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै यो मार्गबाट जान खोज्ने हरेक जहाजलाई अमेरिकी सेनाले रोक्ने र विस्तृत जाँच गर्ने बताए । 'वार्ता राम्रो भयो, धेरैजसो बुँदाहरूमा सहमति पनि जुट्यो, तर सबैभन्दा महत्त्वपूर्ण बुँदा आणविक विषयमा भने सहमति हुन सकेन,' उनले लेखेका छन्, 'त्यसैले, अहिलेदेखि नै लागु हुने गरी विश्वकै उत्कृष्ट ‘अमेरिकी नौसेना’ले होर्मुज जलमार्गमा प्रवेश गर्ने वा बाहिरिने कुनै पनि र सबै जहाजहरूलाई नाकाबन्दी गर्ने प्रक्रिया शुरू गर्नेछ ।'

विशेषगरी इरानलाई ‘टोल ट्याक्स’ बुझाएका जहाजहरूमाथि कडा निगरानी राखिने उनको भनाइ छ । ट्रम्पका अनुसार, इरानलाई गैरकानुनी रूपमा टोल बुझाउने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन । यसको मुख्य उद्देश्य इरानको आर्थिक मेरुदण्ड कमजोर बनाउनु रहेको छ ।

पाकिस्तानको विशेष अनुरोधमा दुई हप्ताको युद्धविराम गरी इस्लामाबादको सेरेना होटलमा वार्ता भएको थियो। शनिबार राति अबेरसम्म चलेको धेरै चरणका छलफलहरूमा कुनै सहमति जुट्न सकेन। आइतबार बिहान ६ बजे आयोजित पत्रकार सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले औपचारिक रूपमा वार्ता विफल भएको पुष्टि गरे। 

अमेरिकी टोलीमा उपराष्ट्रपति भान्सका साथै विशेष दूत स्टीव विटकोफ र वरिष्ठ वार्ताकार जारेड कुशनर सहभागी थिए। राष्ट्रपति ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफको मध्यस्थता प्रयासको प्रशंसा गरे तापनि इरानले आफ्नो आणविक महत्वाकांक्षा त्याग्न अस्वीकार गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

वार्ता असफल भएलगत्तै राष्ट्रपति ट्रम्पले 'ट्रुथ सोसल' मार्फत श्रृङ्खलाबद्ध पोस्ट गर्दै नयाँ सैन्य निर्देशनको घोषणा गरेका छन् । उनले अमेरिकी नौसेनालाई अन्तर्राष्ट्रिय पानीमा इरानलाई कर वा टोल तिर्ने प्रत्येक जहाजलाई रोक्न र खोजी गर्न निर्देशन दिएका छन्।

उनले यो नाकाबन्दीमा अन्य देशहरू पनि संलग्न हुने दाबी गरेका छन्। साथै, इरानले जलमार्गमा राखेका सामुद्रिक खानीहरू अमेरिकी नौसेनाले नष्ट गर्ने चेतावनी समेत दिएका छन्।

ट्रम्पका अनुसार लामो वार्तामा धेरै बुँदाहरूमा सहमति नजिक पुगे तापनि आणविक मुद्दामा कुरा अड्किएको थियो। 

अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ताले यति ठूलो विवाद एकै बैठकमा समाधान हुने अपेक्षा गर्नु गलत भएको बताए। 

शान्ति वार्ताको पतन र अमेरिकी नाकाबन्दीको घोषणाले विश्वव्यापी ऊर्जा बजारमा तत्कालै धक्का पुर्‍याएको छ। अमेरिकी कच्चा तेल ८ प्रतिशतले बढेर प्रति ब्यारेल १०४.२४ डलर पुगेको छ। ब्रेन्ट कच्चा तेल ७ प्रतिशतले बढेर १०२.२९ डलर पुगेको छ।

विश्वको २० प्रतिशत तेल व्यापार हुने हर्मुजको जलमार्गमा अवरोध हुने डरले लगानीकर्ताहरू चिन्तित छन् ।

इस्लामाबाद वार्ताले जगाएको शान्तिको आशा अहिलेका लागि समाप्त भएको छ। दुई हप्ताको युद्धविरामको बाँकी समयमा अब थप वार्ता हुने वा सिधै सैन्य टकराव शुरू हुने भन्नेमा अन्योल छाएको छ । यदि ट्रम्पको धम्की अनुसार नाकाबन्दी कार्यान्वयन भएमा यसले विश्व अर्थतन्त्रमा गम्भीर संकट निम्त्याउने निश्चित छ ।

salt training

कमेन्ट गर्नुहोस्