
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट)को ब्वाइजतर्फ बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ ।
समूह ‘ए’बाट भारत विजेता र श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह ‘बी’ बाट पाकिस्तान र नेपाल क्रमशः पहिलो र दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
सेमिफाइनलमा भारतले नेपालसँग र श्रीलंकाले पाकिस्तानसँग भिडन्त गर्नेछन् । सेमिफाइनल जित्ने टोली सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा आयोजना हुने एसियाली फाइनल प्रतियोगितामा छनोट हुनेछन् ।
ब्वाइजमा बंगलादेशबाहेक दक्षिण एसियाका ६ राष्ट्र सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको हो ।
ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार ब्वाइज/गर्ल्समा समान दुई/दुई गरी चार खेल सम्पन्न भए । नेपालको दुवै टोलीले प्रतिस्पर्धा गरेको थियो । दुवैमा नेपाल समान ३–० को नतिजामा पराजित भयो ।
ब्वाइजमा पाकिस्तानले नेपाललाई पराजित गर्यो । सिंगल्समा पाकिस्तानका मुहम्मद आयानले नेपालका सभ्यजंग कार्कीलाई ६–० र ६–२ तथा पाकिस्तानका मुहम्मद गिलले आरित मल्ललाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।
डबल्समा पाकिस्तानका मुहम्मद फाइजन र गिलको जोडीले नेपालका साहश बस्नेत र सभ्यजंगको जोडीलाई ६–२ र ६–१ ले हराए । ब्वाइजमै भारतले श्रीलंकालाई ३–० ले पाखा लगायो ।
पाँच राष्ट्र सहभागी गर्ल्सको राउन्ड रोविन लिगमा भारत र माल्दिभ्सले जित हासिल गरे । भारतले नेपाललाई ३–० ले पन्छायो । माल्दिभ्सले भने पाकिस्तानमाथि ३–० को जित दर्ता गर्यो ।
हालसम्म गर्ल्सतर्फ भारत, श्रीलंका र नेपालले समान–दुई खेल खेलेका छन् । भारतले दुई, श्रीलंकाले दुई र नेपालले एक खेलमा जित हात पारेका छन् । माल्दिभ्स र पाकिस्तानले समान तीन/तीन खेल खेलिसकेका छन् ।
माल्दिभ्सले एक जित निकालेको छ भने पाकिस्तान जितविहीन छ । गर्ल्समा पनि शीर्ष दुई स्थानमा रहने टोली एसियाली फाइनल प्रतियोगिताका लागि छानिने छन् ।