
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले आइतबारका लागि बैठक आह्वान गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार दिउँसो ३:३० बजे बस्ने बैठकमा समसामयिक संगठनात्मक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूको मनोनयनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा पनि बैठकमा निर्णय गर्ने तयारी गरिएको छ ।
पार्टीले विज्ञ तथा योजनाका लागि आह्वान सम्बन्धी विषयमा पनि छलफल गर्नेछ । साथै, प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक, तथा संसदीय दलका लागि प्राविधिक सहयोग र लेबी सम्बन्धी विषय पनि एजेन्डामा समेटिएका छन् ।
पार्टीका प्रवक्ता मनिष झाले सचिवालय बैठकमा संगठन सुदृढीकरण, नीति निर्माण तथा आगामी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर छलफल हुने बताए ।
सचिवालय बैठकको प्रस्तावित कार्यसूची :
१. जिल्ला अधिवेशन कार्यविधि २०८३ ।
२. बैंक खाता सञ्चालन सम्बन्धमा ।
३. केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघिय नेतृत्व मञ्च र विभागहरूको मनोनयन ।
४. महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन सम्बन्धमा ।
५. विज्ञहरु, योजनाहरु आब्हान । (Call for Experts, Call for Project ideas)
६. विविध ।
क. प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी सम्बन्धमा ।
ख. केन्द्रीय समिति बैठक सम्बन्धमा ।
ग. संसदीय दलको लागि प्राविधिक सहायता एवं लेवी सम्बन्धमा ।