
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी युद्ध र आगामी मार्गचित्रबारे अत्यन्तै विरोधाभासपूर्ण सन्देशहरू दिएका छन्। बुधबार राति समाप्त हुन लागेको १४ दिने युद्धविरामको समयसीमा नजिकिँदै गर्दा ट्रम्पले एकातिर वार्ताका लागि आफू तयार रहेको बताएका छन् भने अर्कोतिर सम्झौता नभए भयावह सैन्य आक्रमण हुने चेतावनी दिएका छन्।
अन्तर्वार्ता र सामाजिक सञ्जालका पोस्टहरूमा उनले इरानसँगको द्वन्द्व अन्त्य गर्न आफूलाई कुनै हतार नरहेको उल्लेख गर्दै आगामी वार्ता पाकिस्तानको राजधानी इस्लामावादमा हुन सक्ने विश्वास व्यक्त गरे। तर, बुधबारसम्म कुनै ठोस सहमति जुटेन भने 'धेरै बमहरू' विस्फोट हुन थाल्ने भन्दै उनले इरानी पक्षलाई कडा धम्की समेत दिएका छन्।
जटिल परिस्थितिबीच ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा आफ्नो वार्ता टोलीलाई पाकिस्तान पठाउने तयारी गरिरहेका छन्। उक्त टोलीमा विशेष दूत स्टिभ विट्कोफ र राष्ट्रपतिका ज्वाइँ जेरेड कुश्नर समेत सहभागी हुने समाचार संस्था एपीले जनाएको छ । यद्यपि, इरानी पक्षले भने अमेरिकी सर्तहरू र धम्कीको छायामा वार्तामा नबस्ने अडान राखेको छ।
इरानको संसद्का सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बाघेर कालिबाफले अमेरिकाले इरानलाई आत्मसमर्पण गराउन खोजेको आरोप लगाउँदै त्यसको बदलामा इरानले युद्धमैदानमा 'नयाँ कार्डहरू' देखाउने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत धम्कीको छायामा वार्ता स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
युद्धविरामको अन्तिम समयमा आएर विशेषगरी हर्मुज जलमार्ग क्षेत्रमा तनाव पुनः बढेको छ। अमेरिकी नौसेनाले इरानी नाकाबन्दी छल्न खोजेको आरोपमा एक इरानी कार्गो जहाज नियन्त्रणमा लिएपछि इरानी सेनाले पनि कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ। इरानले यसअघि नै उक्त जलक्षेत्रमा यातायात अवरुद्ध पार्दै अमेरिकाले युद्धविरामको पालना नगरेको आरोप लगाउँदै आएको छ। विश्वको झन्डै पाँच भागको एक भाग तेल व्यापार हुने यस सामरिक क्षेत्रमा भएको तनावले विश्व बजार र लगानीकर्ताहरूमा पनि त्रास फैलाएको छ।
यसैबीच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाको विरोधाभासी संकेतहरूले गहिरो अविश्वास सिर्जना गरेको बताएका छन्। उनले इरानी जनता दबाबको अगाडि नझुक्ने स्पष्ट पारेका छन्। यता ट्रम्पले भने इरानलाई 'पूर्ण रूपमा सैन्य पराजय' को नजिक पुर्याएको दाबी गर्दै विपक्षी डेमोक्र्याट र केही रिपब्लिकनहरूले तत्काल युद्ध अन्त्य गर्न गरेको आग्रहलाई अस्वीकार गरेका छन्। उनले इरानले आफ्ना सर्तहरू मानेमा मात्र इन्धनको मूल्यमा कमी आउने र अमेरिकी अर्थतन्त्रमा सुधार हुने तर्क समेत अघि सारेका छन्।
पाकिस्तानले मंगलबारबाटै वार्ता शुरू गराउन तयारी गरिरहेको भए पनि ट्रम्पले ब्लुमबर्ग न्युजसँग बोल्दै युद्धविरामको अवधि थप गर्ने सम्भावना निकै कम रहेको बताएका छन्। उनले वार्ताका लागि थप २४ घण्टाको समय दिने संकेत गरे पनि इरानले आफ्नो परमाणु संवर्द्धन कार्यक्रम रोक्न र युरेनियमको भण्डार हस्तान्तरण गर्न नमाने सम्म कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन्।
इरानले हालसम्म आफू युद्धमा पराजित नभएको र आत्मसम्मानका साथ मात्र वार्ता गर्ने अडान कायम राखेका कारण इस्लामावादमा हुने भनिएको वार्ताको भविष्य अझै अनिश्चित देखिएको छ।
यद्यपि, एक इरानी प्रतिनिधिमण्डल अमेरिकासँग वार्ताको लागि पाकिस्तान जाने तयारीमा छ। न्यूयोर्क टाइम्सले दुई इरानी अधिकारीहरूलाई उद्धृत गर्दै प्रतिनिधिमण्डल आज इस्लामाबाद आइपुग्न रिपोर्ट गरेको हो ।
अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स मंगलबार वाशिंगटनबाट पाकिस्तान जाने अपेक्षा गरिएको छ। त्यसैले, इरानी प्रतिनिधिमण्डलको सहभागिता पनि उनको भ्रमणमा निर्भर हुने विश्वास गरिन्छ।