
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हेमन्त धामीले पहिलो विकेट लिएका छन् ।
उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा पहिलो अन्तर्राष्ट्रिय विकेट लिएका हुन् ।
२० वर्षीय मध्यमतेज गतिका बलर धामीले यूएईका कप्तान एवं ओपनर ब्याट्सम्यान मुहम्मद वसिमलाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय सिकार बनाए । धामीले मुहम्मद वसिमलाई एलबीडब्लूको धरापमा पारेका हुन् ।
यो उनको दोस्रो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
यसअघि, सोमबार कीर्तिपुर मैदानमै खेलिएको यूएईविरुद्धको पहिलो खेलमा उनले ‘डेब्यू’ गरेका थिए ।
तर, त्यो खेलमा उनले विकेट लिन सकेका थिएनन् ।
मंगलबारको खेलमा नेपालले टस जिती यूएईलाई ब्याटिङको निम्तो दिएको हो ।