
नेपालबाट विश्वस्तरीय प्रविधि विकासतर्फ अघि बढिरहेको एआई प्रयोगशाला सेजियाले आफ्नो सबैभन्दा उन्नत भाषा मोडेल ‘सेज २.५ म्याग्नस’ को प्रि–ट्रेनिङ चरण सफलतापूर्वक सम्पन्न गरेको घोषणा गरेको छ।
विश्व एआई क्षेत्रमा अमेरिका, चीन र युरोपका ठूला प्रयोगशालाहरूको वर्चस्व कायम रहँदै आएको अवस्थामा नेपाली प्रयोगशालाबाट यस्तो स्तरको मोडेल विकास हुनु उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।
कम्पनीले २१ अप्रिल २०२६ मा सार्वजनिक गरेको अपडेटअनुसार ‘सेज २.५ म्याग्नस’ अब विकासको दोस्रो चरणमा प्रवेश गरेको छ। पूर्णरूपमा शून्यबाट डिजाइन गरिएको यो ठूलो भाषा मोडेलले आधुनिक एआई प्रणालीहरूमा प्रयोग हुने उन्नत संरचनाहरू समेटेको कम्पनीले जनाएको छ।
‘मिक्स्चर अफ एक्सपर्ट्स’ आधारित संरचना
मोडेलको मुख्य विशेषता ‘मिक्स्चर अफ एक्सपर्ट्स’ (एमओई) आधारित ‘स्पार्स’ संरचना हो। यसमा कुल १२० अर्ब प्यारामिटर रहे पनि प्रत्येक टोकन प्रशोधन गर्दा करिब १२ अर्ब मात्र सक्रिय हुने व्यवस्था गरिएको छ।
यसले उच्च कम्प्युटर दक्षता कायम राख्दै ठूलो स्केलमा काम गर्न सक्ने कम्पनीको दाबी छ। परम्परागत ‘डेन्स’ मोडेलहरूमा सबै प्यारामिटर एकैपटक सक्रिय हुने भएकाले कम्प्युटर लागत बढी हुने गर्छ। तर, ‘म्याग्नस’ जस्तो स्पार्स मोडेलले आवश्यक अंश मात्र प्रयोग गरेर स्रोतको प्रभावकारी उपयोग गर्ने बताइएको छ।
कम्पनीका अनुसार ‘म्याग्नस’ को प्रि–ट्रेनिङ पूर्णरूपमा आफ्नै डिजाइनमा आधारित छ। यो कुनै अन्य मोडेलको परिमार्जन वा ‘फाइन–ट्युनिङ’ नभई मौलिक रूपमा निर्माण गरिएको प्रणाली हो।
प्रि–ट्रेनिङ चरणमा ठूलो परिमाणमा डेटा प्रयोग गरी भाषा, कोडिङ, तार्किक विश्लेषण तथा बहु–चरण समस्या समाधानसम्बन्धी आधारभूत क्षमता विकास गरिएको छ।
यसलाई मोडेलको ‘ज्ञान आधार’ निर्माण गर्ने प्रमुख चरणका रूपमा लिइएको छ।
प्रि–ट्रेनिङपछि मोडेल अब दोस्रो चरणमा प्रवेश गरेको छ, जहाँ उन्नत ‘रिजनिङ’ क्षमता, बहु–चरणीय सोच तथा ‘एजेन्टिक’ कार्यप्रणाली विकासमा ध्यान केन्द्रित गरिने कम्पनीले जनाएको छ ।
यस चरणपछि मोडेल केवल प्रश्नको उत्तर दिने प्रणालीमा सीमित नरही जटिल कार्य योजना बनाउने, निर्णय गर्ने र चरणबद्ध रूपमा काम गर्ने क्षमतासहितको एआई प्रणालीतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।
‘सेज २.५ म्याग्नस’ को विकासले उन्नत एआई प्रविधि अब सीमित भौगोलिक क्षेत्रमा मात्र केन्द्रित नरहेको संकेत दिएको छ।
स्रोत सीमित भए पनि स्पष्ट अनुसन्धान दिशा र उपयुक्त प्रविधि संरचनाले ठूला उपलब्धि सम्भव हुने उदाहरणका रूपमा यसलाई हेरिएको छ।
आगामी योजना
सेजियाले आगामी चरणमा मोडेललाई थप परिष्कृत गर्दै वास्तविक प्रयोगका सन्दर्भमा परीक्षण गर्ने, चयनित साझेदारमार्फत् कार्यान्वयन विस्तार गर्ने तथा थप क्षमताहरू समावेश गर्ने योजना बनाएको छ।
कम्पनीले भविष्यमा अझ उन्नत मोडेल तथा प्रणाली विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
नेपाली प्रयोगशालाबाट शुरू भएको यो प्रयासले विश्वस्तरीय एआई विकासमा नेपालको उपस्थिति विस्तार हुने संकेत दिएको छ। ‘म्याग्नस’ यस दिशामा एक महत्त्वपूर्ण कदमका रूपमा उभिएको छ।