
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व अन्त्यका लागि कुनै निश्चित समयसीमा नभएको स्पष्ट पारेका छन् । ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले इरानी नेतृत्वबाट शान्ति सम्झौताका सर्तहरूमा ठोस र एकीकृत प्रतिक्रिया नआएसम्म युद्धविरामको विस्तार र रणनीतिक दबाबको अवस्था जारी रहने संकेत दिएको सीएनएनले जनाएको छ ।
यसैबीच, पर्दा पछाडि अमेरिका र इरानबीच पुनः वार्तामा फर्कने विषयलाई लिएर ‘ब्याक च्यानल’ संवाद भइरहेको छ । पूर्वअमेरिकी जनरल मार्क किमिटका अनुसार दुवै पक्षबीच गोप्य माध्यमबाट सन्देश आदानप्रदान भइरहेका छन् ।
यद्यपि, इरानभित्रका विभिन्न राजनीतिक शक्तिहरूबीचको मतभेदका कारण सन्देशहरूमा एकरूपता नदेखिएको र अमेरिकामा पनि राष्ट्रपतिका दैनिक बदलिइरहने विचारहरूले वार्ता प्रक्रियालाई जटिल बनाएको किमिटको विश्लेषण छ।
अमेरिकी नौसेनाले इरानी बन्दरगाहहरूमा कडा नाकाबन्दी जारी राखेको छ । अर्कोतर्फ, पेन्टागनका अधिकारीहरूले अमेरिकी सांसदहरूलाई गराएको जानकारी अनुसार यदि युद्ध अन्त्य भइहाले पनि हर्मुज जलमार्गलाई समुद्री बारुदी सुरुङ (माइन) बाट पूर्ण रूपमा मुक्त गर्न कम्तीमा छ महिना लाग्ने देखिएको छ ।
क्षेत्रीय तनाव थप बढ्दै जाँदा इरानले हर्मुजबाट बाहिरिन खोजिरहेका दुई कन्टेनर जहाजहरूलाई आफ्नो नियन्त्रणमा लिएको छ। इरानी रिभोलुसनरी गार्ड (आईआरजीसी)ले ती जहाजहरूलाई गोप्य रूपमा मार्ग परिवर्तन गर्न खोजेको आरोप लगाउँदै इरानी तटतर्फ निर्देशित गरेको हो ।
यद्यपि, राष्ट्रपति ट्रम्पले यस घटनालाई युद्धविरामको उल्लङ्घनका रूपमा व्याख्या नगर्ने बताएका छन् । तर इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले भने इजरायलको ‘युद्धकारी’ व्यवहारले गर्दा हर्मुज पुनः खोल्न असम्भव भएको दाबी गरे ।
अमेरिकी आन्तरिक राजनीतिमा पनि राष्ट्रपति ट्रम्पको शक्तिमाथि अंकुश लगाउने प्रयास असफल भएको छ। अमेरिकी सिनेटमा ट्रम्पको युद्ध शक्तिलाई सीमित गर्ने र इरानमा सैन्य कारबाही गर्नुअघि कंग्रेसनल स्वीकृति अनिवार्य गर्ने प्रस्ताव अस्वीकृत भएको हो ।