३० असार २०८३, मंगलबार

चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर

बैशाख १०, २०८३
काठमाडौं
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कठोर भन्सार शुल्कलाई सफलतापूर्वक झेलेको चीनका लागि अहिले मध्यपूर्वमा भइरहेको तनाव अर्को चुनौती बनेको छ। 

बीबीसीका अनुसार चीनको उत्पादनको केन्द्र मानिने फोसान र ग्वाङ्झाउका औद्योगिक क्षेत्रहरूमा अहिले मन्दी र अनिश्चितताको छाया देखिन थालेको छ।

चीनको अर्थतन्त्र पहिले नै सुस्त वृद्धिदर र बेरोजगारीको समस्यासँग जुधिरहेका बेला अमेरिका र इरानबीचको बढ्दो तनावले त्यहाँका कारखानाहरूमा नयाँ दबाब थपिदिएको छ। विशेष गरी चीनले सस्तो र आम उत्पादनबाट अत्याधुनिक प्रविधितर्फ फड्को मारिरहेका बेला विश्वव्यापी ढुवानी मार्गमा आएको अवरोधले  व्यवसायी र मजदुर दुवैलाई मारमा पारेको छ।

फोसानका औद्योगिक गल्लीहरूमा कामको खोजीमा रहेका मजदुरहरूमा निराशा छाएको छ। प्रतिघण्टा १८ देखि २० युआन (करिब ३ डलर) मा काम गर्न बाध्य मजदुरहरूले आफ्नो जीवन कष्टकर बन्दै गएको गुनासो गरेका छन्। एक मजदुरले आफ्नो पीडा सुनाउँदै भने, 'हामी केवल काम मात्र गर्छौँ, हाम्रो कुनै व्यक्तिगत जीवन छैन। हाम्रो अवस्था कसैले बुझ्दैन।'
मध्यपूर्वको द्वन्द्वका कारण 'स्ट्रेट अफ हर्मोज' जस्ता महत्त्वपूर्ण ढुवानी मार्गहरू प्रभावित हुँदा चीनको निर्यात खर्च करिब २० प्रतिशतले बढेको छ। 

विश्वकै ठूलो कपडा बजार मानिने ग्वाङ्झाउका व्यापारीहरूका अनुसार इन्धन र पेट्रोकेमिकल्सको मूल्य बढ्दा उत्पादन लागत आकाशिएको छ। यसले गर्दा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट आउने अर्डरमा कमी आएको छ भने उत्पादित सामग्रीहरू गोदाममै थुप्रिन थालेका छन्।

चीनले पछिल्लो समय विद्युतीय सवारी साधन निर्यातमा ठूलो सफलता हात पारेको छ। मार्च महिनामा मात्रै चीनले ३ लाख ५० हजारभन्दा बढी विद्युतीय गाडी निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४० प्रतिशतले बढी हो। 

तर, युद्धका कारण मध्यपूर्वतर्फ हुने निर्यात ठप्प जस्तै भएको छ। व्यवसायी जोइस लिउका अनुसार धेरै गाडीहरू अहिले चिनियाँ बन्दरगाह मै रोकिएका छन् ।
भूराजनीतिक रूपमा चीनले आफूलाई शान्ति स्थापना गर्ने शक्तिको रूपमा प्रस्तुत गर्न खोजिरहेको छ। बेइजिङले इरानलाई वार्ताको टेबुलमा ल्याउन र अरब राष्ट्रहरूसँगको सम्बन्ध मजबुत बनाउन कूटनीतिक पहल गरिरहेको छ। 

विश्लेषकहरूका अनुसार अमेरिका मध्यपूर्वको द्वन्द्वमा अल्झिएका बेला चीन आफूलाई विश्व शक्तिको केन्द्रमा उभ्याउन चाहन्छ।
यद्यपि, चीनको यो बढ्दो कूटनीतिक र आर्थिक प्रभावको लाभ ग्राउन्ड जिरोमा रहेका मजदुरहरूसम्म पुग्न सकेको नसकेको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्