
जारी सिजनको स्पेनिस ला लिगा उत्तरार्धतिर लम्किरहँदा बार्सिलोनाले अंक तालिकामा आफ्नो निकट्तम प्रतिद्वन्द्वी रियल म्याड्रिडसँगको अग्रता नौ अंक पुर्याएको छ ।
बार्सिलोनाले ला लिगाको पछिल्लो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी सेल्टा भिगोमाथि १–० गोलको प्रतिस्पर्धात्मक जीत हासिल गर्यो ।
बार्सिलोनाको जितमा प्रभावशाली युवा खेलाडी लामिन यामलले निर्णायक गोल गरे । १८ वर्षीय यामलले निर्धारित समयको ४०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।
खेलका क्रममा यामल घाइते भए । ह्यामस्ट्रिङ समस्याका कारण उनी निर्धारित समयको ४५औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
बार्सिलोनाको सुखद यात्रामा यो सिजन यामलले १६ गोल गरेका छन् । उनले ११ गोलका लागि साथीहरूलाई पाससमेत उपलब्ध गराएका छन् ।
जारी सिजनको ला लिगामा अधिकांश टोलीले केवल ६ खेल खेल्न बाँकी रहँदा बार्सिलोना ८२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।
समान ३२ खेल खेलेको चिरप्रतिद्वन्द्वी रियल म्याड्रिड ७३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ३२ खेलबाट ४४ अंक जोडेको सेल्टा भिगो भने तालिकाको सातौँ स्थानमा छ ।