
दुई दिनअघि राष्ट्रपतिलाई संसद् अधिवेशन आह्वान गर्नका लागि पत्राचार गरेको सरकारले फेरि स्थगितका लागि पत्राचार गरेको छ ।
यही वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख १७ गते दिउँसो २ बजेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (वैशाख ९ मा) संसद् अधिवेशन आह्वानको निर्णय गरेका थिए । सरकारको सिफारिस अनुसार उनले वैशाख १४ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वा नगरेका थिए ।
तर, त्यसको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गतेका लागि आह्वान भएको संसद् अधिवेशन स्थगित गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
राष्ट्रपति पौडेलले पनि मन्त्रिपरिषद्को निर्णय अनुसार संसद् अधिवेशन स्थगित गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नु भएकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्वान हाललाई स्थगित गर्नु भएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता शाक्यले जारी गरेको सूचनामा भनिएको छ ।
