
करिब महिना दिनको रस्साकस्सीपश्चात् भोलि अर्थात् शुक्रबार प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता पाउँदैछ ।
यसका लागि निर्वाचन प्रक्रिया पनि शुरू भइसकेको छ। दलको नेता चयनका लागि पार्टीले मतदाता नामावली प्रकाशन गरेर प्रक्रिया थालेको छ ।
कांग्रेसको दलको नेताको निर्वाचन गराउने प्रक्रियाको जिम्मेवारी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीसहित केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाललाई दिएको छ ।
रसाइली नेतृत्वको समितिले वैशाख ७ मा कार्यतालिका निकाल्दै ११ वैशाखमा दलको नेता चयन गर्ने स्पष्ट पारेको थियो । कार्यतालिकाअनुसार ११ वैशाख अर्थात् भोलि ११ बजेदेखि १२ बजेसम्मका लागि दलको नेता बन्न चाहनेहरूको मनोनयन दर्ताको काम हुनेछ।
त्यसपश्चात् अन्य प्रक्रिया पूरा गर्दै साँझ ४ देखि ५ बजेसम्म मतदान कार्य हुनेछ । मतदान सकिएपश्चात् गणना शुरू गर्ने र त्यसको केही समयमा नतिजा प्रकाश गर्ने तयारी समितिको छ ।
‘कार्यतालिका आइसकेको छ । सहमति भए सहमतिबाट, नभए लोकतान्त्रिक प्रक्रियाबाट दलको नेता चयन गर्छौं‚’ संयोजक रसाइलीले भने ।
त्रिपक्षीय भिडन्तको सम्भावना
३८ सांसद रहेको कांग्रेसमा दलको नेता बन्न मुख्य तीन नेता दौडिएका छन् । प्रमुख प्रतिपक्षमा रहेको दलको नेता बन्न त्रिपक्षीय भिडन्त हुने देखिएको छ । दलको नेता बन्न अर्जुननरसिंह केसी‚ भीष्मराज आङ्देम्बे र मोहन आचार्यबीच भिडन्त हुने बुझिएको छ ।
दलको नेता आफूलाई बनाउनुपर्छ भन्दै सबैभन्दा बढी लागि परेका नेता हुन्, अर्जुन नरसिंह केसी । नेपाल विद्यार्थी संघको स्थापनाकाल, प्राध्यापक संघ हुँदै निर्दलीय पञ्चायती व्यवस्था र २०४६ पछिका हरेकजसो संसद्मा देखिएका केसी यसपटक दलको नेता बन्ने दौडमा छन् । समानुपातिक निर्वाचन प्रणालीबाट संसद् छिरेका उनी यसपटकको संसद्मा सबैभन्दा ‘पाको उमेर’का सांसद् हुन् ।
उनकै नेतृत्वमा प्रतिनिधिसभा २०८३ को पहिलो बैठक बस्यो भने सभामुख पदको निर्वाचन पनि उनैले गराएका हुन् । यस्तै, ज्येष्ठ सदस्यको हैसियतमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पनि उनकै अध्यक्षतामा बसेको बैठकले चयन गरेको थियो ।
आफू सिनियर भएको र संसदीय व्यवस्थाको जानकार भएकाले पनि दलको नेता बन्न चाहेको उनले बताउँदै आएका छन् । उनकै कारणले सहमति जुट्न नसक्दा दलको नेता चयन प्रक्रियामा ढिलाइ भएको कांग्रेस स्रोत बताउँछ ।
अर्जुन आफैँ पनि या त आफू दलको नेता बन्नुपर्ने, नभए आफूले बनाएको मापदण्डअनुसार दलको नेता चयन गरिनुपर्ने धारणा राख्छन् ।
उनले कनिष्ठबाट बनाए निश्कल राईको नाम अघि सारेका छन् । महिलाबाट बनाउने भए बासना थापा उनको रोजाइमा छिन् ।
यस्तै, प्रत्यक्ष निर्वाचन जितेकाबाट बनाउने भए पनि आफू तयार भएको र आफ्नो मापदण्ड अनुसार जसलाई पार्टीले अघि सार्छ, उसको प्रस्तावक आफैं बस्ने उनले लोकान्तरसँग बताए ।
‘मापदण्डअनुसार गर्ने भए ठीक छ, म आफैँ प्रस्तावक बन्छु । नभए सहमति गरौं, त्यसमा पनि सहमत छु‚’ उनले भने‚ ‘सिनियरमा आइपुग्दा म स्वभाविक उम्मेदवार हुँ ।’
आफू पनि नबन्ने र मापदण्ड पनि लागू नहुने भए आफूले कुनै पनि प्रक्रियामा भाग नलिने पनि उनले स्पष्ट पारे ।
‘गगनको ससुरा भनेर भाष्य बनाउनु मेरो विषयमा गलत हो‚’ उनले भने‚ ‘मैले दरखास्त दिएपश्चात् फिर्ता लिन मिल्दैन । त्यसैले सहमति नभए म केही प्रक्रियामा भाग लिन्न भन्नेमा छु।’
केसीपश्चात् दलको नेता बन्न दौडिएका अर्का नेता हुन्, भीष्मराज आङ्देम्बे ।
लामो समय शेरबहादुर देउवानिकट रहेर राजनीति गरेका उनी यसपटक समानुपातिक निर्वाचन प्रक्रियाबाट संसद् छिरेका नेता हुन् ।
उनी पनि कुनै पनि हालतमा दलको नेता चयन प्रक्रियाबाट आफू ब्याक नहुने बताउँछन् ।
यति लामो समय दलको नेता चयन सहमतिबाट गर्नुपर्छ भनेर लागिपरेको भन्दै उनले सम्भव भए सहमति, नभए लोकतान्त्रिक प्रक्रियाबाट नेता चयन हुने बताउँछन् ।
‘सहमति भए पनि, नभए पनि म उम्मेदवार हो‚’ उनले लोकान्तरसँग भने‚ ‘दलको नेता चयन प्रक्रियालाई अब लम्ब्याउन मिल्दैन । म उम्मेदवार बन्छु ।’
पार्टी यतिबेला राजनीतिक संकटमा छ । पुरानो संस्थापन र वर्तमान संस्थापनबीच राजनीतिक मिलन भइसकेको छैन । विशेष महाधिवेशनपश्चात् मन फाटेर बसेका कांग्रेसीहरू एक हुन सकेका छैनन् ।
यस्तो अवस्थामा पुरानो संस्थापन मानिने भीष्मलाई दलको नेता बनाएर पार्टीमा सहमति गराउन सकिने उनी आफैँ बताउँछन् । उपसभापति विश्वप्रकाश शर्मा पनि यसमा सहमत देखिन्छन् । तर‚ शर्माले यस विषयमा धारणा अघि बढाइसकेका छैनन् ।
केसी र आङ्देबेबाहेक दलको नेता बन्ने दौडमा छन् नेता मोहन आचार्य । उनलाई सभापति गगनकुमार थापाको साथ सहयोग रहेको बताइन्छ ।
थापा समानुपातिक तर्फबाट आएकाहरूलाई दलको नेता बनाउने पक्षमा छैनन् । उनी प्रत्यक्ष चुनाव जितेका र आफ्नो विश्वास पात्रलाई नै दलको नेता बनाउने पक्षमा छन् ।
त्यसैले लगातार रसुवाबाट प्रत्यक्ष निर्वाचन जित्दै आएका मोहन आचार्य थापाको रोजाइमा परेका छन् ।
आचार्य सभापति थापाको सिद्धार्थ वनस्थली पढ्दै देखिका मित्र पनि हुन् ।
उनीहरूको सम्बन्ध निकट नै छ । त्यसैले यसपटक विश्वासपात्र उनै आचार्यलाई दलको नेताको जिम्मेवारी सुम्पने थापाको तयारी छ ।
‘मोहन दाइलाई बनाउने भनेर सभापतिज्यू लाग्नुभएको छ । मोहन दाइ पनि यसका लागि आफ्नो पक्षमा सांसदहरूलाई मनाउन लागिपर्नुभएको छ‚’ निकट स्रोत भन्छ ।
प्रमुख प्रतिपक्षी दलको नेता सरकारको वैकल्पिक प्रधानमन्त्री र छायाँ सरकारको प्रमुखका रूपमा समेत मानिन्छन् । यसबाहेक संवैधानिक आयोगहरूको नियुक्तिका लागि संविधानअनुसार गठन हुने संवैधानिक परिषद् सदस्यको रूपमा समेत उसको उपस्थिति रहन्छ ।
त्यसैले, पनि दलको नेता कसलाई बनाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसमाथि कांग्रेस जस्तो पुरानो दलभित्र संसदीय दलको नेता बन्न पाए राजनीतिक हाइट र प्रोफाइल पनि बढ्ने भएकाले नेताहरू दलको नेता बन्न मरिहत्ते गर्ने गर्दछन् ।
यसपटक गगन थापा‚ पूर्णबहादुर खड्का‚ शेखर कोइराला‚ विमलेन्द्र निधिजस्ता पुराना र प्रभावशाली नेताहरूले पनि चुनाव नजितेको अवस्थामा दलको नेताको महत्त्व झन् बढेको छ ।