२९ असार २०८३, सोमबार

पहलगाममा असाधारण साहस देखाउँदै ११ जनाको ज्यान जोगाएका नजाकतले यसरी सम्झिए त्यो क्षण

बैशाख ११, २०८३
काठमाडौं
पहलगाममा असाधारण साहस देखाउँदै ११ जनाको ज्यान जोगाएका नजाकतले यसरी सम्झिए त्यो क्षण

२०२५ अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगामस्थित बैसरण उपत्यकामा भएको आतंककारी आक्रमणको एक वर्ष पुगेपछि यसका विभिन्न पाटोबारे चर्चा भइरहेको छ ।

'मिनी स्वीट्जरल्याण्ड' भनेर चिनिने उक्त पर्यटकीय क्षेत्रमा भएको गोलीकाण्डमा २६ निर्दोष नागरिकको ज्यान गएको थियो । ज्यान गुमाउनेमा एक नेपाली समेत थिए ।

खुला मैदानमा अन्धाधुन्ध गोली चल्दा पर्यटकहरू ज्यान जोगाउन भागदौडमा लागेका थिए ।

लुक्ने ठाउँ नभएकाले स्थिति झन् भयावह बनेको थियो । यहीबीच स्थानीय गाइड नजाकत अलीले असाधारण साहस देखाउँदै ११ जना पर्यटकको ज्यान जोगाएका थिए ।

आक्रमणको वर्षदिनपछि नजाकत अलीले उक्त दिनको त्रासदी सम्झिएका छन् ।

छत्तीसगढका केही पर्यटकहरू घुमफिरका लागि पहलगाम पुगेका थिए । उनीहरूसँगै ३० वर्षीय नजाकत अली गाइडका रूपमा रहेका थिए । पेशाले उनी व्यापारीसमेत हुन् । घटना भएकै दिन नजाकतले पर्यटकहरूलाई बैसरण उपत्यकामा लगेका थिए । त्यही क्रममा उनी जिपलाइन क्षेत्रनजिक केही बालबालिकासँग सामाजिक सञ्जालका लागि भिडियो बनाइरहेका थिए ।

अचानक गोलीको आवाज गुञ्जियो । शुरूमा उनलाई सेना र आतंककारीबीच मुठभेड भएको जस्तो लागेको थियो । तर, केही बेरमै एक आतंककारीले सिधै पर्यटकतर्फ गोली चलाउन थालेपछि स्थिति स्पष्ट भयो ।

नजाकतका अनुसार उनले तत्कालै आफू सँगै रहेका ११ जना पर्यटकलाई भुइँमा सुत्न निर्देशन दिए । त्यसपछि उपत्यकाका गोप्य बाटोहरूको ज्ञान प्रयोग गर्दै उनीहरूलाई सुरक्षित स्थानतर्फ लैजान थाले । उनले झण्डै सात किलोमिटर दूरी घना जंगल हुँदै पार गराएर पर्यटकहरूलाई सुरक्षित रूपमा पहलगामसम्म पुर्‍याए ।

त्यहाँ पुगेपछि भने दुईजना महिला जंगलमै छुटेको जानकारी भयो । नजाकत फेरि जोखिम मोलेर घटनास्थल नजिक फर्किए र ती महिलाहरूलाई पनि सुरक्षित रूपमा बाहिर ल्याए ।

उक्त आक्रमणमा नजाकतका आफन्त सैयद आदिल शाहको ज्यान गएको थियो ।

नजाकतको साहसिक कार्यको कदर गर्दै उनलाई हालै छत्तीसगढको रायपुरमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व मुख्यमन्त्री भूपेश बघेलसमेत उपस्थित थिए ।

एक वर्षपछि कश्मीरमा पर्यटकहरूको आगमन पुनः बढ्न थालेको नजाकतले बताएका छन् ।

उनले भने, 'आज पनि यहाँ आउने पर्यटकहरूको स्वागत गर्न एक होइन, सयौँ नजाकत तयार छन् ।'

पहलगाममा एक नेपालीसहित २६ जना निर्दोष पर्यटकलाई धर्मका आधारमा छुट्याएर निर्ममतापूर्वक हत्या गरिएको थियो, जसलाई योजनाबद्ध र अत्यन्त क्रूर घटनाका रूपमा लिने गरिएको छ ।

उक्त आक्रमणको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले लिएको थियो ।

टीआरएफलाई पाकिस्तान समर्थित आतंकवादी संगठन मानिन्छ र यो ‘लश्कर–ए–तैयबा’ (एलईटी) को सहायक संरचना हो । अमेरिकाले समेत यसलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सूचीमा समावेश गरेको छ ।

(एनडीटीभीमा प्रकाशित समाचारका आधारमा तयार पारिएको सामग्री ।)

salt training

कमेन्ट गर्नुहोस्