२३ जेठ २०८३, शनिबार
सुकुम्बासी बस्तीमा डोजर

थापाथलीको सुकुम्बासी बस्ती डोजर चलेको ५ घण्टामा खाली, भएन झडप

बैशाख १२, २०८३
काठमाडौं

काठमाडौंको थापाथलीमा रहेको सुकुम्बासी बस्ती शनिबार बिहान कुनै अप्रिय घटनाविना करिब पाँच घण्टामै पूर्ण रूपमा खाली गरिएको छ।

विगतमा यस्ता प्रयासहरू विवाद र झडपमा परिणत हुँदै तनावपूर्ण बन्ने गरेका थिए । तर यसपटक शान्तिपूर्ण रूपमा बस्ती खाली गरिएको छ ।

सरकारले दुई दिन अघिदेखि नै सुकुम्बासी र भूमिहीनलाई आफ्ना सरसामान सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो ।

सरकारको उर्दीपछि अधिकांश बासिन्दाले बिहानैदेखि आफ्ना घरटहरा आफैं खाली गर्दै सामान ओसारपसार गरेका थिए ।

प्रारम्भिक योजनाअनुसार बिहान ६ बजेदेखि डोजर प्रयोग गर्ने भनिए पनि बस्ती पूर्ण रूपमा खाली हुन समय लाग्यो र बिहान ९ बजेदेखि मात्रै डोजर चलाउन शुरू गरियो ।

बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौं महानगरपालिकाका नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो ।

सुरक्षाकर्मीहरूले सम्भावित घुसपैठ वा अवाञ्छित गतिविधि रोक्न सर्वसाधारणलाई कार्यक्षेत्रमा प्रवेश निषेध गरेका थिए ।

साथै, प्रहरीले बासिन्दाहरूलाई आफ्ना सामान सुरक्षित स्थानमा सार्नसमेत सहयोग गरेको थियो।

null

उक्त क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका संरचनाहरू हटाउन डोजर, प्राविधिक टोली, एम्बुलेन्स, सामग्री ओसार्ने ट्रक तथा उद्धारपछि नागरिकलाई अस्थायी आश्रय स्थलसम्म लैजान सवारीसाधन परिचालन गरिएको थियो। यसले सम्पूर्ण प्रक्रिया व्यवस्थित र छिटो सम्पन्न गर्न मद्दत पुग्यो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीका अनुसार अधिकांश परिवार आफन्तकोमा सरेका छन् भने केहीले महानगरले तोकेको स्थानमा बस्न अस्वीकार गरेका छन् । वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई नागार्जुनको इचङ्गु क्षेत्रमा निर्माण गरिएको ४२ वटा आवास युनिटमा स्थानान्तरण गरिने उनले बताए । नदी किनारमा बसोबास गर्ने धेरै व्यक्तिसँग अन्यत्र घरजग्गा रहेको उनको दाबी छ ।

यसअघि सोही क्षेत्रमा बस्ती हटाउने प्रयासका क्रममा झडप, विरोध र अराजकता देखिएको थियो । तर यसपटक सङ्घीय सरकार र स्थानीय सरकारबीचको प्रभावकारी समन्वयका कारण प्रक्रिया सहज बनेको जोशीको भनाइ छ।

महानगरपालिकाले थापाथली क्षेत्रलाई हराभरा बनाउने, नदी किनारलाई व्यवस्थित पार्क र मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना बनाएको छ ।

सुकुम्बासी बस्ती कै कारण ‘यूएन पार्क’ निर्माणको अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । अब ललितपुरतर्फ विकास गरिएको नमूना पार्कजस्तै काठमाडौंतर्फ पनि सोही मोडेलमा छिट्टै काम शुरू गर्ने तयारी रहेको छ।

यसैबीच, विस्थापित नागरिकहरूलाई अस्थायी रूपमा विभिन्न स्थानमा व्यवस्थापन गरिने छ।

null

कीर्तिपुरस्थित सत्सङ्ग भवन, भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र, खरीपाटी र चाँदबागका सरकारी भवन तथा खाली जग्गाहरूलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गरिनेछ।

सरकारी टोलीले हाल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुकुम्बासीहरूको विवरण संकलन गरिरहेको छ।

विवरण संकलनपछि उनीहरूलाई कीर्तिपुरस्थित सत्सङ्ग भवनमा स्थानान्तरण गरिनेछ। दिउँसो १ बजेसम्म २२ परिवारले आफूहरू घरवारविहीन भएको जानकारी गराउँदै सम्पर्कमा आएका छन् ।

थापाथलीपछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीको संयुक्त टोलीले गैरीगाउँ क्षेत्रमा संरचना हटाउने कार्य शुरू गरिसकेको छ।

यसपश्चात् मनोहरा सुकुम्बासी बस्ती पनि खाली गराउने तयारी भइरहेको छ।

सरकारले यसपटक भावनात्मक भन्दा पनि तथ्य र लगतका आधारमा वास्तविक र नक्कली सुकुम्बासी छुट्याई दीर्घकालीन समाधान खोज्ने रणनीति बनाएको छ ।

जसले गर्दा भविष्यमा दिगो रूपमा समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हेर्नुहोस्, भिडियो : 

 

salt training

कमेन्ट गर्नुहोस्