२८ जेठ २०८३, बिहीबार
तीन दशक लामो अनुभवसहितको नेतृत्व

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

बैशाख १४, २०८३
काठमाडौं
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
मन्त्रिपरिषद् बैठक

सशस्त्र प्रहरी बल नेपालको १३ औँ महानिरीक्षकमा नारायणदत्त पौडेलको बढुवा भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी पौडेललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

वर्तमान महानिरीक्षक राजु अर्याल यही वैशाख १८ गते अनिवार्य अवकाशमा जाने भएपछि सरकारले एआईजी पौडेललाई आइजीपी बनाउने निर्णय गरेको हो ।

तीन दशकभन्दा लामो सुरक्षा सेवाको अनुभव बोकेका सुरक्षा अधिकारीका रूपमा पौडेल परिचित छन् । नेपाल प्रहरीबाट करियर शुरू गरेका पौडेल २०५८ वैशाख ४ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।

सुर्खेतको साविक जर्बुटा गाविस–५ मा जन्मिएका पौडेल संगठनमा सरल र मिजासिला मानिन्छन् ।

स्नातकोत्तर तहसम्म अध्ययन गरेका पौडेलले नेपाल प्रहरीमा रहँदा रोल्पामा स्ट्राइकिङ टोली कमान्डरका रूपमा कार्य गर्दै चुनौतीपूर्ण सुरक्षा अवस्थामा प्रभावकारी नेतृत्व प्रदर्शन गरेका थिए ।

उक्त कार्यका लागि उनलाई प्रहरी प्रधान कार्यालयले ग्रेड थप गरी पुरस्कृत गरेको थियो ।

त्यसबाहेक इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रमुख, जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी निरीक्षक तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षकका रूपमा पनि उनले जिम्मेवारी निर्वाह गरेका थिए ।

सशस्त्र प्रहरी बलमा स्थानान्तरणपछि उनले विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाले । दाङको तुल्सीपुरस्थित सुरक्षा बेस प्रमुखदेखि राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा समन्वयकारी भूमिका, शान्ति प्रक्रियाका क्रममा विशेष संयन्त्रमा संलग्नता, सीमा सुरक्षा कार्यालय बर्दिया तथा विशेष कार्यदल गणहरूको नेतृत्वजस्ता जिम्मेवारी उनले सम्हालेका थिए ।

सशस्त्र प्रहरीको प्रधान कार्यालयका विभिन्न विभाग, क्षेत्रीय मुख्यालयहरू तथा उपत्यका सुरक्षा कार्यालयमा उनले नीतिगत र रणनीतिक योजना निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन् । एआईजी हुँदा उनीसँग मानव स्रोत, सीमा सुरक्षा र कार्य विभागमा नेतृत्व सम्हालेको अनुभव छ । 

पौडेल २०५८ सालमा सशस्त्र प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए । त्यसपछि २०६३ मा उपरीक्षक, २०७० मा वरिष्ठ उपरीक्षक, २०७५ मा नायब महानिरीक्षक र २०७९ मा अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका हुन् ।

उत्कृष्ट सेवाका लागि उनले सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री (चौथो), गोरखा दक्षिण बाहु (चौथो), प्रदेश सेवा पदकलगायत सम्मान प्राप्त गरेका छन् ।

साथै, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत लाइबेरिया र कोसोभोमा सेवा गरेबापत यूएन पदकसमेत प्राप्त गरेका छन् ।

पौडेलले सुरक्षा, आतंकवाद नियन्त्रण, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी विभिन्न तालिम तथा सेमिनारमा श्रीलंका, इटाली, अमेरिका, चीन र डेनमार्कलगायत देशमा सहभागिता जनाएका छन् ।

नेपालभित्र पनि उनले अनुसन्धान, युद्धकला, व्यवस्थापन तथा अपरेशनसम्बन्धी विविध तालिम लिएका छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनअन्तर्गत उनले लाइबेरियामा ६ महिना र कोसोभोमा करिब २५ महिना सेवा प्रदान गरेका छन् ।

लामो अनुभव, विविध जिम्मेवारी र अन्तर्राष्ट्रिय सहभागितासहित पौडेलले सशस्त्र प्रहरी बल नेपाललाई व्यावसायिक र सक्षम संगठनका रूपमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

सीमा सुरक्षा, आन्तरिक शान्ति र संगठनात्मक सुदृढीकरणमा उनको योगदान उल्लेखनीय मानिन्छ ।

यस्तो छ दर्जागत जिम्मेवारी:

– सशस्त्र प्रहरी नायव उपरीक्षक रहँदा सुरक्षा बेस तुलसीपुर दाङमा प्रमुख रही शान्ति सुव्यवस्था कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह ।

– सशस्त्र प्रहरी नायव उपरीक्षक दर्जामा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा रही उच्च स्तरको समन्वयकारी भूमिका ।

– सशस्त्र प्रहरी नायव उपरीक्षक दर्जामा २०६३/६४ शान्ति प्रक्रियाको बेला अनमिन मातहत रहने गरी हतियार निगरानीको सदस्यको रूपमा रही कार्य सम्पादन ।

– सशस्त्र प्रहरी उपरीक्षक दर्जामा सीमा सुरक्षा कार्यालय बर्दिया, नीलबराही गण र बगलामुखी विशेष कार्यदल गणको गणपति ।

– सशस्त्र प्रहरी उपरीक्षक रहँदा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पाँखली, सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभाग र उपत्यका सशस्त्र प्रहरी बल मुख्यालय पशुपतिनाथ बाहिनी (इन्ट)मा रही फिल्ड ड्युटी तथा स्टाफिङ ड्युटीमा उत्कृष्ट कार्य सम्पादन ।

– सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दर्जामा प्रधान कार्यालयमा प्रशासन विभाग, व्यावसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालय, उपत्यका सुरक्षा कार्यालय (इन्ट)मा रही नीतिगत तथा रणनैतिक योजनाहरू निर्माणमा महत्त्वपूर्ण भूमिका ।

– सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा प्रमुख तथा यूएन शान्ति स्थापनार्थ तालिम शिक्षालय, काकनीका समादेशकको रूपमा सफल नेतृत्व प्रदान ।

– सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पाँखली र सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ बाहिनीमा सहायक बाहिनीपतिका रूपमा उत्कृष्ट समन्वय र सहकार्य गरी उच्च व्यावसायिकता प्रदर्शन ।

– सशस्त्र प्रहरी नायब महानिरीक्षक रहँदा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग तथा मानव स्रोत विभागमा रही नीतिगत तथा रणनीतिक योजनाहरू निर्माणमा विशेष भूमिका ।

– सशस्त्र प्रहरी नायब महानिरीक्षक रहँदा बाहिनीपतिको रूपमा लुम्बिनी तथा गण्डकी प्रदेशस्थित बाहिनी मुख्यालयहरूमा सफल नेतृत्व प्रदान ।

– सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुँदा मानव स्रोत, सीमा तथा कार्य विभागका विभागीय प्रमुखको रूपमा रणनीतिक तथा नीतिगत निर्माण र कार्यान्वयन ।

कहिले कुन पदमा बढुवा

२०५८/३/१८ – सशस्त्र प्रहरी नायव उपरीक्षक (कामु)

२०५८/१२/१८ – सशस्त्र प्रहरी नायव उपरीक्षकमा स्थायी बढुवा

२०६३/१२/२९ – सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा

२०७०/०२/०२ – सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा

२०७५/०७/१३ – सशस्त्र प्रहरी नायब महानिरीक्षकमा बढुवा

२०७९/०२/०६ – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बढुवा

२०८३/०१/१४ – महानिरीक्षकमा बढुवा

salt training

कमेन्ट गर्नुहोस्