
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा ६ जनाको गिरोहलाई पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले ठगी गर्नुअघि नै 'तपाईं एउटा सक्कली नोट दिनुस्, हामी दोब्बर नोट दिन्छौं, बजारमा मज्जाले चल्छ' भन्दै नक्कली नोटको कारोबार गर्दै आएको तथ्य खुलेको छ ।
विगतमा सक्कली नोट भनेर नक्कली नोटको कारोबार गर्ने 'ट्रेन्ड' रहे पनि यो पटक भने पहिल्यै नक्कली नोट हो भनेर गिरोहले कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार यो घटना नौलो हो । जहाँ पीडित र पीडक दुवैलाई कारोबारबारे थाहा हुने गरेको उनले बताए ।
अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका–३ घर भई काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने २६ वर्षीय योगबहादुर तामाङ, बाराका ३८ वर्षीय मिलनकुमार तामाङ, दक्षिणकालीका ३६ वर्षीय भविन्द्रकुमार तामाङ, चितवन रत्ननगर–५ का ३४ वर्षीय प्रवीण महतो, रौतहट गजुरा–१ का २८ वर्षीय मुना धामी र चितवन कालिका–५ का ३८ वर्षीय सत्यनारायण चौधरी रहेका छन् ।
यो गिरोहले पीडितहरूबाट पैसा लिएर जग्गा दिलाइदिन्छु भनेर उल्टै पैसा फिर्ता गर्ने भन्दै नक्कली नोट भिडाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरूलाई टौदह नजिकबाट पक्राउ गरिएको एसएसपी खड्काले जानकारी दिए । प्रहरीले उनीहरूबाट २ वटा झोलामा राखिएको हजारको नोट जस्तो देखिने ४० बण्डल कागज (नक्कली नोटको रूपमा प्रयोग गरिने), नम्बर प्लेट लुकाइएको ईभी गाडी (मिनी हाइस) र ना ४७ प ५४११ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ ।
कसरी हुन्थ्यो ठगी ?
प्रहरीका अनुसार गिरोहले शुरूमा सानो रकममा 'विश्वास जित्ने' रणनीति अपनाउने गरेको थियो । पीडित भनिएका व्यक्तिले यो गिरोहबाट साटेको नोट बजारमा सटही गर्थे । सटही हुन थालेपछि उनीहरूले धमाधम पैसा दिएर दोब्बर नक्कली नोट लिँदै आएका थिए ।
नयाँ प्रवृत्ति, उजुरी गर्न हिच्किचाहट
यसअघि सस्तो दरमा विदेशी मुद्रा साट्ने बहानामा ठगी हुने गरेको भए पनि 'नक्कली नोट साट्ने' भन्दै गरिएको यस्तो शैली नयाँ रहेको प्रहरीले जनाएको छ ।
सक्कली–नक्कली नोट साट्ने जस्तो गैरकानूनी कारोबारमा संलग्न भएको कारण कतिपय पीडितहरू प्रहरीमा आउन समेत हिच्किचाउने गरेको बताइएको छ । हालसम्म यस शैलीमा ठगिएका दुई जना पीडित सम्पर्कमा आइसकेका छन् भने अन्य पीडितलाई पनि सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।
पक्राउ परेकाहरू अधिकांश पटके
अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका मध्ये अधिकांश पटके हुन् । यो गिरोहमा संलग्नमध्येका मिलनकुमार तामाङले वैदेशिक रोजगारमा अजरबैजान पठाइदिन्छु भनेर पीडितबाट पाँच लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ ।
अर्का आरोपी भविन्द्रकुमार तामाङविरुद्ध भने २०८२ जेठ ३२ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट जुवा ऐन कसुरमा मुद्दा चलेको थियो ।
अर्का आरोपी मुना धामीविरुद्ध रौतहटस्थित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट २०७५ मंसिर ३ गते हातहतियार तथा खरखजाना मुद्दा चलेको थियो ।
पक्राउ परेका प्रवीण महतोविरुद्ध भने यसअघि नै तीन वटा कसुरमा मुद्दा चलेको अनुसन्धानबाट खुलेको छ ।
उनीविरुद्ध २०८१ वैशाख २७ मा जिल्ला प्रहरी कार्यालय चितवनबाट बैङ्किङ कसुर, २०८१ पुस १७ गते चितवनबाटै ठगी कसुर र २०८० चैत १२ मा चितवनस्थित इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट अभद्र व्यवहारमा मुद्दा चलेको प्रहरी अनुसन्धानले देखाएको छ ।