
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले पदमा रहँदा नगर्ने १० कामको सूची सार्वजनिक गरेकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा कसैलाई जागिर नलगाउने, नियुक्ति नदिने र स्वार्थप्रेरित सरुवा–बढुवा नगर्ने बताएकी छन्। शक्तिको दुरुपयोग नगर्ने र कानुनविपरीत कसैको भनसुन नसुन्ने अडान पनि उनले सार्वजनिक गरेकी छन्।
लागूऔषध, ठगी र तस्करीजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन वा संरक्षण गर्न कुनै पहल नगर्ने उनले स्पष्ट पारेकी छन्। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने उल्लेख गर्दै कमिसन वा घुस नलिने र यस्ता गतिविधिविरुद्ध सशक्त रूपमा उभिने प्रतिबद्धता जनाएकी छन्।
महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तीकृत समुदायमाथि हुने हिंसा तथा अन्यायका विषयमा कुनै सम्झौता नगर्ने उनको भनाइ छ। साथै, राज्यका स्रोत–साधनको दुरुपयोग नगर्ने र मन्त्रीका रूपमा पाइने अतिरिक्त सुविधा—जस्तै क्वार्टर, घरभाडा र कूटनीतिक राहदानी—नलिने घोषणा पनि गरेकी छन्।