०७ साउन २०८३, बिहीबार

भोलि साँझदेखि देशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने, उच्च सतर्कता अपनाउन अपिल

बैशाख १५, २०८३
काठमाडौं
भोलि साँझदेखि देशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने, उच्च सतर्कता अपनाउन अपिल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणमा अपिल गरेको छ। 

प्राधिकरणले मंगलबार एक विशेष सूचना जारी गर्दै बुधबार साँझ ५:४५ बजेदेखि १७ गते बिहान ७:४५ बजेसम्म हावाहुरीको जोखिम उच्च रहने जानकारी दिएको हो।
विशेषगरी कोशी प्रदेशको मोरङ, मधेश प्रदेशका धनुषा र बारा, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी लगायत आसपासका जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ। यो मौसमी प्रणाली मेघगर्जन, चट्याङ्ग र असिनासहित पश्चिमबाट क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेकाले देशका अन्य भागमा पनि यसको प्रभाव पर्न सक्ने देखिएको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले जनाएको छ । 

तीव्र हावाहुरीका कारण रुख तथा कमजोर संरचनाहरू ढल्न सक्ने, घरको छाना उड्ने तथा विद्युत र सञ्चार सेवा समेत अवरुद्ध हुन सक्ने भन्दै प्राधिकरणले विशेष सावधानीका उपायहरू अपनाउन आग्रह गरेको छ।

 हावाहुरी चलेको समयमा सकेसम्म घरबाहिर हिँडडुल नगर्न र घरभित्रै सुरक्षित बस्न सूचित गरिएको छ। साथै घरका झ्याल र ढोकाहरू राम्रोसँग बन्द गर्न तथा जस्तापाताका कच्ची छाना भएका घरधनीहरूलाई छानाको बन्धन बलियो बनाउन समेत आग्रह गरिएको छ।

प्राधिकरणले हावाहुरीको समयमा घरबाहिर आगो नबाल्न र घरभित्र पनि आगोको प्रयोग गर्दा विशेष चनाखो हुन सचेत गराएको छ। लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा र तारमुनि नबस्न तथा लत्रिएका बिजुलीका तारहरूलाई नछुन समेत सर्वसाधारणलाई सूचित गरिएको छ। उडाएर ल्याएका विभिन्न सामानबाट चोट लाग्न सक्ने जोखिम हुने भएकाले सबैलाई सतर्क रहन भनिएको छ।
 

कमेन्ट गर्नुहोस्