३० असार २०८३, मंगलबार

रिमालको जेन्जी कवितासङ्ग्रह ‘लाभा’ प्रकाशित

बैशाख १६, २०८३
काठमाडौं
रिमालको जेन्जी कवितासङ्ग्रह ‘लाभा’ प्रकाशित

साहित्यकार तथा पत्रकार श्याम रिमालले जेनजी आन्दोलनमा केन्द्रित भई लेखिएको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशनमा आएको छ । विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील 
नवपुस्ताप्रति समर्पित जेन्जी कविताका प्रकाशनमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहेकी छन् । 
कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता सङ्गृहित छन्, जसले भदौ २३ र २४ लाई सङ्केत गर्छन् । 

‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेन्जी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’, ‘भदौ २३’ आदि शीर्षकमा नवपुस्ताका आशा, आकाङ्क्षा, मुलुकमा व्याप्त कुशासन, बेथिति र भ्रष्टाचार, जेन्जी सहिदका भावना, पुराना राजनीतिक दल र तिनका नेताहरूको पुरातन सोचाइ, निर्वाचन आदि विषय समेटिएका छन् ।

निरास युवाहरूका उकुसमुकुसले ज्वालामुखीको रूप लिएपछि उत्पन्न आक्रोशलाई ‘लाभा’ मार्फत प्रतिनिधित्व गराइएको छ । जेन्जी आन्दोलनसँग सम्बन्धित कविताहरूको यो नै सम्भवतः पहिलो नेपाली कवितासङ्ग्रह हो । 

गीत, मुक्तक, हाइकु, कथा, धारावाहिक उपन्यास पनि प्रकाशन गराइसकेका रिमालका समसामयिक विषयमा लेखिएका लेखरचना पनि पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । उनको यसअघि  ‘एउटा काँढा बिझ्दा’, गीतसङ्ग्रह (विसं २०४८), ‘त्रिशूलीको किनाराबाट’, कवितासङ्ग्रह (विसं २०६६), ‘बारपाक’ कम्पकाव्य (विसं २०७४), ‘नदी बग्दैन’, कवितासङ्ग्रह (विसं २०७८), ‘चमेरो’, कोरोना कविता (विसं २०८०), ‘हिमाल त कालै भएछ’, २०२४ का कविता (विसं २०८१) कृति प्रकाशन भइसकेका छन् । 

पुर्ख्यौली घर तार्केश्वर/सामरी/त्रिशूली बजार, नुवाकोट रहेका उनी हाल आफूद्वारा विभिन्न समयमा फुटकर रूपमा लेखिएका प्रकाशित–अप्रकाशित निबन्धहरूको सङ्ग्रह प्रकाशनको गृहकार्यमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्