
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह मनोनीत भएका छन् ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार शाहलाई उपनेता मनोनीत गरेका हुन् । शाह गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु-३ बाट निर्वाचित भएका थिए ।
यसैगरी, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनीत भएको कांग्रेस संसदीय दलले जनाएको छ ।
थापा दैलेख-१ र राई इलाम-१ बाट निर्वाचित सांसद हुन् ।
बुधबार नै संसदीय दलका नेता आङ्देम्बेले राष्ट्रियसभा संसदीय दलको नेतामा कमला देवी पन्तलाई मनोनीत गरेका छन् । यसअघि राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला दलको नेता थिए ।