
नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको सचेतकमा पदमबहादुर परियार मनोनीत भएका छन् ।
कांग्रेसका प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधबार परियारलाई सचेतकमा मनोनीत गरेका हुन् ।
कांग्रेस विधानले राष्ट्रिय सभा संसदीय दलको नेता तथा सचेतक नियुक्तिको अधिकार प्रतिनिधिसभा संसदीय दलको नेतालाई दिएको छ ।
'नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम राष्ट्रिय सभाका लागि सचेतकमा माननीय पदमबहादुर परियारलाई मनोनयन गर्नुभएको छ,' कांग्रेस संसदीय दलद्वारा प्रेसित सूचनामा भनिएको छ ।
यसअघि कृष्णबहादुर रोकाया सो जिम्मेवारीमा थिए । आजै, संसदीय दलको नेताबाट कृष्ण सिटौलालाई हटाएर कमला पन्तलाई जिम्मेवारी दिइएको थियो ।