
नेपाली कांग्रेसको युवा संगठन नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरुङले राजीनामा दिएका छन् ।
बुधबार पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै उनले राजीनामा पेस गरेका हुन् ।
गुरुङ २०७८ फागुन ९ गते तरूण दलको अध्यक्ष मनोनीत भएका थिए । पार्टी निर्माणको अभियानमा सहज वातावरण बनोस् भन्ने विश्वासका साथ आफूले तरूण दलको अध्यक्ष पदबाट राजीनामा दिएको गुरुङको भनाइ छ ।
‘मेरो अध्यक्षतामा गठन भएको दलको केन्द्रीय समितिले पाँचौं महाधिवेशन सम्पन्न गर्न पार्टीले दिएको समयसीमा २०८३ मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने भएता पनि पाँचौं महाधिवेशनको प्रक्रिया शुरू भइरहेको अवस्थामा देशको पछिल्लो राजनीतिक घटनाक्रमले उत्पन्न असहज परिस्थितिका कारण नेपाल तरुण दलको पाँचौं महाधिवेशन सम्पन्न गर्न नसकिएको यथार्थ पार्टीलाई अनुरोध गर्न चाहन्छु’, गुरुङले राजीनामापत्रमा भनेका छन्, ‘लोकतन्त्रको सुदृढ परिकल्पना एवं नयाँ जनादेशलाई संस्थागत गरी नेपाली कांग्रेस पार्टीलाई समयले मागेको र युगले चाहेबमोजिम नेपाल तरूण दललाई नेपाली कांग्रेसको सिद्धान्त र योजना अनुसार अगाडि बढाउन महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बनाउनु वर्तमानको आवश्यकता हो ।’

