२९ असार २०८३, सोमबार
निगमको निर्णय

आजदेखि डिजेल र मट्टितेल प्रतिलिटर १२ रुपैयाँले घट्यो, ग्यास र हवाई इन्धन महँगियो

बैशाख १८, २०८३
काठमाडौं
आजदेखि डिजेल र मट्टितेल प्रतिलिटर १२ रुपैयाँले घट्यो, ग्यास र हवाई इन्धन महँगियो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार आजदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ।

निगमका अनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँले ठूलो गिरावट आएको छ। त्यस्तै, पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ। 

नयाँ मूल्य कायम भएसँगै अब काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर २२५ रुपैयाँमा उपलब्ध हुनेछ। यस्तै, पहिलो वर्गका क्षेत्रहरू (चारआली, विराटनगर, वीरगञ्ज लगायत) मा पेट्रोल २१४ रुपैयाँ ५० पैसा र डिजेल २२२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। यस्तै दोस्रो वर्गतको दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर २२४ रुपैयाँमा उपलब्ध हुनेछ ।

डिजेल र पेट्रोलको मूल्य घटेर उपभोक्तालाई केही राहत मिले पनि खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य महँगो हुने भएको छ। निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर १५० रुपैयाँ वृद्धि गरेको छ। यससँगै अब उपभोक्ताले एक सिलिन्डर ग्यासका लागि २ हजार १६० रुपैयाँ तिर्नुपर्नेछ। ७.१ केजीको आधा सिलिन्डरको मूल्य भने १ हजार ८० रुपैयाँ पुगेको छ।

यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले वृद्धि भई २६९ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा काठमाडौँका लागि प्रति किलोलिटर ४६ अमेरिकी डलर वृद्धि गरी १ हजार ८३१ डलर कायम गरिएको छ। पोखरा र भैरहवाको लागि भने लागत मूल्य (ब्रेक इभन पोइन्ट) मा नै बिक्री गर्ने निर्णय निगमले गरेको छ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको भन्दै निगमले स्वचालित मूल्य प्रणाली बमोजिम यो समायोजन गरिएको जनाएको छ। 

मूल्य समायोजन गरेपछि पनि निगमलाई अझै पाक्षिक रूपमा करिब १ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ। निगमले विषम परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण उपभोक्ताहरूलाई इन्धनको खपतमा मितव्ययिता अपनाउन समेत अनुरोध गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्