
प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्स स्पर्धामा शुक्रबार च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा भएको फाइनलमा प्रणव र आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२, २–६ र ६–३ अंकले हरायो ।
भेट्रान ३५ (वर्षमाथि) पुरुष सिंगल्स स्पर्धामा सन्तोष खत्री पहिलो भए । उनले फाइनलमा जितेन्द्र परियारलाई ६–७, ६–२ र १०–५ अंकले हराए ।
सोही स्पर्धाको पुरुष डबल्सतर्फको फाइनलमा जितेन्द्र परियार र छेवाङ लामाको जोडीले भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीलाई ६–० र ६–२ अंकले हरायो ।
यसैगरी, भेट्रान (५५ वर्षमाथि) पुरुष सिंगल्सको फाइनलमा विमलकुमार गुरुङले चन्द्र शाहीलाई ४–६, ६–४ र १३–११ अंकले पाखा लगाउँदै उपाधि कुम्ल्याए ।
सोही स्पर्धाको पुरुष डबल्स स्पर्धामा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडी विजेता बन्यो । चन्द्र र सोभितमानको जोडीले मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडीलाई ४–६, ६–२ र १०–६ ले हरायो ।
यसैगरी, भेट्रान (४५ वर्षमाथि) पुरुष सिंगल्समा देव क्षेत्रीले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारमाथि ६–१ र ६–० अंकले पराजित गरे ।
सोही स्पर्धाको पुरुष डबल्सतर्फको फाइनलमा रोहित सुनुवार र महेश श्रेष्ठको जोडीले अमितसिंह गुरुङ र देव क्षेत्रीको जोडीलाई ६–३, १–६ र ११–९ अंकले हरायो ।
यसैगरी, भेट्रान (६५ वर्षमाथि) कमल थापाले दोहोरो स्वर्ण जिते । उनले पुरुष सिंगल्स र डबल्स स्पर्धामा स्वर्ण पदक जितेका हुन् ।
सिंगल्सतर्फको फाइनलमा उनले ध्रुवबहादुर गुरुङलाई ६–१ र ६–० अंकले हराए । डबल्सतर्फको फाइनलमा उनले छ्याम्बा डुन्डुपसँग मिलेर ध्रुवबहादुर गुरुङ र रविन्द्रदास श्रेष्ठको जोडीलाई ६–२ र ६–३ अंकले पराजित गरे ।
प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष र महिला सिंगल्सको फाइनल खेल हुनेछ । पुरुषमा प्रदीप खड्का र प्रणव मानन्धर तथा महिलामा शिभाली गुरुङ र स्वस्तिका विष्टबीच उपाधिका लागि भिडन्त हुनेछ ।