०६ साउन २०८३, बुधबार

सन्दीप लामिछानेले बनाए गजबको कीर्तिमान, लिग–२ क्रिकेटमा १०० विकेट लिने पहिलो बलर

बैशाख १८, २०८३
काठमाडौं
सन्दीप लामिछानेले बनाए गजबको कीर्तिमान, लिग–२ क्रिकेटमा १०० विकेट लिने पहिलो बलर

नेपाली टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । यसअघि पनि लिग–२ प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा उनी पहिलो स्थानमै थिए ।

उनले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा यस्तो उपलब्धि हासिल गरेका हुन् ।

२५ वर्षीय सन्दीपले यूएईका ओपनर ब्याट्सम्यान आर्यान्श शर्मालाई आफ्नो १००औँ सिकार बनाए । उनले आर्यान्शलाई ३३ रनको व्यक्तिगत स्कोरमा ललित राजवंशीद्वारा क्याच गराए ।

घरेलु मैदानमा जारी लिग–२ शृंखलामा यसअघि सन्दीपले ओमानविरुद्ध दुई र यूएईविरुद्ध पनि दुई विकेट लिएका थिए ।

उनले लिग–२ प्रतियोगिताको पहिलो संस्करणमा ३१ खेलको ३० पालीमा ७२ विकेट लिएका थिए । जारी दोस्रो संस्करणमा पनि १९ खेलको १७ पालीमा २८ विकेट लिइसकेका छन् ।

लिग–२ प्रतियोगितामा अमेरिकाका सौरभ नेत्रवाल्करले ९३ विकेट लिएका छन् । उनले पहिलो संस्करणमा ५८ र जारी संस्करणमा ३५ विकेट लिएका हुन् ।

सन्दीपले सन् २०१८ को अगस्त १ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

त्यसयता सन्दीपले ६९ एकदिवसीय अन्तर्राष्ट्रियको ६७ पालीमा कुल एक सय ४० विकेट लिइसकेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने केवल ११ रन खर्चिएर ६ विकेट हो ।

salt training

कमेन्ट गर्नुहोस्