
भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न दलका नेताहरुसँग राजनीतिक संवाद गरेका छन् ।
सभापति लामिछानेले आज संसदमा रहेका सबै प्रमुख राष्ट्रिय दलका नेताहरूसँग टेलिफोन संवाद गर्दै यस गम्भीर राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन पहल गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले लिपुलेक विवादबारे भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाउनुअघि सभापति लामिछानेले दलका नेताहरूलाई फोन गरेका हुन् । सीमा र सार्वभौमिकता जस्तो संवेदनशील विषयमा सत्ता र प्रतिपक्ष नभनी सिङ्गो मुलुकको एउटै स्वर हुनुपर्ने उद्देश्यका साथ उनले यो संवाद गरेको रास्वपाले जनाएको छ।
लामिछानेले नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा र नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेका हुन् ।
त्यसै गरी उनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दलका नेता ज्ञानेन्द्र शाहीसँग पनि यस विषयमा कुराकानी गरेको सचिवालयको भनाइ छ । नेपालले दुबै देशलाई पठाएको कूटनीतिमा लिपुलेक नेपाली भूमि भएको स्पस्ट गरिएको छ ।