
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८३ सालमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा मस्यौदा सार्वजनिक गरेको छ।
पार्टीले परम्परागत राजनीतिक शैली र नेताहरूको तजबिजी अधिकारलाई विस्थापित गर्दै पूर्ण रूपमा पद्धति र प्रमाणमा आधारित उम्मेदवार चयन गर्ने नीति अघि सारेको हो।
सार्वजनिक गरिएको नयाँ रूपरेखा अनुसार उम्मेदवार बन्न चाहनेले सबैभन्दा पहिले क्यानडिडेट क्लबमा आबद्ध भएर औपचारिक आवेदन दर्ता गर्नुपर्नेछ । पार्टीले उम्मेदवारको अन्तिम टुङ्गो लगाउन चारवटा मुख्य आधार तय गरेको छ । जसमा ४० प्रतिशत भार प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) लाई दिइएको छ भने २५ प्रतिशत भार नेतृत्व क्षमता र वैचारिक स्पष्टताका लागि लिडरसिप एकेडेमीको परीक्षालाई छुट्याइएको छ। सबै प्रक्रिया पूरा गर्नेहरु मात्रै अब उम्मेदवार बन्न पाउने छन् । यस आधारमा रास्वपाबाट उम्मेदवार बन्न सहज नहुने देखिएको छ ।
००००
नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।
आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए ।
पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उनले बताए ।
००००
भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएको जवाफ फर्काएको छ । चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि नेपाल सरकारले आइतबार कूटनीतिक पत्र पठाएको थियो ।
त्यसको प्रतिक्रियास्वरूप भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताउँदै लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि निरन्तर प्रयोग हुँदै आएको मार्ग भएको बताएका हुन् ।
००००
भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न दलका नेताहरुसँग राजनीतिक संवाद गरेका छन् ।
सभापति लामिछानेले आइतबार संसदमा रहेका सबै प्रमुख राष्ट्रिय दलका नेताहरूसँग टेलिफोन संवाद गर्दै यस गम्भीर राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन पहल गरेका हुन् ।
००००
काठमाडौँको पुरानो बानेश्वरस्थित देविनगरमा एक घरबाट बरामद गरिएका सैनिक पोसाक र शंकास्पद सामग्रीहरू चलचित्र छायांकनका लागि प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इन्द्र राईको घरमा बोरामा राखेको अवस्थामा सेनाको पोसाक र हतियार फेला परेको भन्दै सामाजिक सञ्जालमा सूचना फैलिएपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार ती सामग्रीहरू शुभ लाभ फिल्म प्रोडक्सनले चलचित्र तथा श्रव्य–दृश्य सामग्री निर्माणका लागि प्रयोग गर्दै आएको पाइएको छ ।
००००
विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा उक्त व्यवस्था गरिएको छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश (संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश २०८३) तेस्रोपटक फिर्ता गरेका छन् ।
३ जनाको बहुमतले पनि निर्णय गर्न सक्ने प्रावधान राखेर पठाइएको अध्यादेश राष्ट्रपति पौडेलले आइतबार फिर्ता गरेका हुन् ।
विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न पठाएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
००००
सशस्त्र प्रहरी बल (एपीएफ) भित्र हालै गरिएको पदोन्नतिलाई लिएर असन्तुष्टि चुलिएको छ ।
‘सिपाही’ नामबाट प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र लेख्दै बढुवा प्रक्रियामा अनियमितता भएको आरोप लगाइएपछि यो विषय चर्चामा आएको हो ।
खुला पत्रमार्फत सिपाहीले बढुवा प्रणालीमा नातावाद, कृपावाद र राजनीतिक प्रभाव हावी भएको आरोप लगाएका छन् ।
उनले आफू दुई दशकभन्दा बढी समयदेखि सेवामा रहेको उल्लेख गर्दै हालको अवस्था निराशाजनक भएको बताएका छन् ।
००००
काठमाडौंको नदी किनारा मिचेर बनाइएका संरचना भत्काउने कामले आइतबार पनि निरन्तरता पाएको छ ।
बागमती एकीकृत सभ्यता विकास समितिलगायतले अतिक्रमित संरचना हटाउने कामलाई निरन्तरता दिएका हुन् ।
००००
खोला र नदी किनाराका अतिक्रमित संरचना हटाउने अभियानअन्तर्गत आइतबार काठमाडौंको अनामनगरमा रहेको ७ तले भवन भत्काउने काम शुरू भएको छ ।
धोबीखोलाको किनारामा सार्वजनिक जग्गा मिचेर बनाइएको सो संरचना भत्काउन लागिएको हो ।
००००
नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका सांसदहरूसँग छलफल गरेका छन् ।
व्यवसायीहरू धमाधम पक्राउ पर्न थालेपछि आइतबार रास्वपाका सभापति लगायतसँग छलफल भएको हो ।
नेपालको आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रका चुनौती तथा सम्भावनाबारे छलफल हुँदै गरेको एक व्यवसायीले बताए ।