
लगातारको वर्षापछि रोशी खोलामा पानीको सतह बढ्दा काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ चारसय बेशी क्षेत्रमा सडक कटान भई यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
सोही क्रममा खोलामा फसेका यात्रु तथा सवारी साधनको सशस्त्र प्रहरीले उद्धार गरेको छ। पाँच वटा इभी हाईस खोलामा फसेको सूचना पाएलगत्तै नं. १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेस भकुण्डेबाट सशस्त्र प्रहरीको टोली खटिएको थियो।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेका करिब १ सय ६० सवारी साधनलाई रोशी गाउँपालिका–७ लासटोल क्षेत्रमै रोकेर राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार ५ वटा इभी हायस गाडीमा रहेका ६०/६५ यात्रुको डोरी र जेसिबिको माध्यमबाट उद्दार गरिएको छ ।