जुन बाटोमा हिँड्दा एकताका आनन्द आउँथ्यो, जहाँ फोटो खिच्न मात्रै मानिसहरू घण्टौं यात्रा गरेर पुग्थे । आज त्यही बीपी राजमार्गमा यात्रा गर्न डराउनुपर्ने अवस्था छ । नेपालकै सबैभन्दा सुन्दर मानिने राजमार्ग अहिले बगरमा परिणत भएको छ ।
दैनिक करिब १० हजार सवारीसाधन गुड्ने राजमार्गबाट यात्रुहरूले कहिले सहज यात्रा गर्न पाउँछन् ? बाढी पहिरोले क्षति गरेको २ वर्ष हुन लाग्दा पनि किन बनेन यो राजमार्ग ? कहिलेसम्म बोक्नुपर्ने हो यात्रुहरूले जोखिमयुक्त यात्राको भारी ?
२०८१ असोज दोस्रो साता, रोशी खोलामा आएको बाढीले अर्बौंको लगानीमा बनेको बीपी राजमार्गलाई क्षणभरमै ध्वस्त पारिदियो । करिब २ वर्षअघि रोशी खोलाले ध्वस्त बनाएको बीपी राजमार्गको दुरावस्थाले अहिले पनि यात्रुहरूलाई त्रसित बनाइरहेको छ । गत साता मात्रै आएको सामान्य वर्षाले समेत सडक अवरुद्ध गर्यो । रातारात यात्रुहरूलाई खोलाबाटै उद्धार गर्नुपर्ने अवस्था आयो ।
संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो बीपी राजमार्ग । यो राजमार्गअन्तर्गत काठमाडौंबाट धुलिखेल–काभ्रे भञ्ज्याङ–भकुण्डे बेंसी–नेपालथोक–खुर्कोट–सिन्धुली हुँदै बर्दिबाससम्म पुगिन्छ ।
त्यहाँबाट पूर्व–पश्चिम राजमार्गसँग जोडिन्छ । १६० किलोमिटर लामो यो राजमार्ग जापान सरकारले सन् १९९६ मा निर्माण शुरू गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।
तर २०८१ असोज दोस्रो साताको बढीले उक्त सडकको करिब ३० किलोमिटर बगाइदिएको थियो । जहाँ अहिले दुई लेनमा पुनर्निर्माण गर्ने काम अगाडि बढाइएको छ । पुनर्निर्माणका लागि सिन्धुलीतर्फ एउटा प्याकेज र काभ्रेतर्फ तीन वटा प्याकेजमा विभाजन गरी ठेक्का लगाएर काम भइरहेको छ ।
सरकारले जापानसँग यसका लागि २ अर्ब ६० करोड रूपैयाँ अनुदान सम्झौता गरिसकेको छ । तर, यो राजमार्ग पुनर्निर्माणका लागि साढे ८ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सिन्धुलीतर्फको करिब ५ किलोटिरको काम ३५ प्रतिशत सम्पन्न भइसकेको सडक डिभिजन खाल्टेका सूचना अधिकारी इन्जिनियर सुदर्शन उप्रेतीले बताए । आगामी वर्ष २०८४ सम्म समयावधि रहेको यो प्याकेज ६२ करोडमा ठेक्का लागेको हो ।
यता तीन प्याकेजमा काम भइरहेको काभ्रेतर्फ पनि धमाधम काम भइरहेको सडक डिभिजन भक्तपुरका इन्जिनियर दीपक याकामीले बताए ।
बीपी राजमार्ग सुन्दर मात्रै होइन पूर्वी नेपाललाई राजधानी शहर काठमाडौंसँग जोड्ने लाइफलाइन पनि हो । अहिलेसम्म जसोतसो अस्थायी डाइभर्सन बनाएर खोलाबाटै यात्रा गरिँदै आएको छ । तर, यस वर्षको बर्खामा यात्रा जोखिमपूर्ण हुनेवाला छ । बाढीले बगाएको सडक अहिलेसम्म बन्न नसक्दा सानो पानी आउँदा पनि सवारी साधन आवतजावत अवरुद्ध हुने अवस्था छ ।
गत वर्ष वर्षाको समयमा यो राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग भएका थिए । यात्रुहरूले धुलिखेल–दोलालघाट–चरिकोट–किर्नेटर हुँदै मन्थली रामेछाप–सित्खापुल तरेर खुर्कोट सिन्धुली हुँदै दोब्बर भाडादरमा यात्रा गरेका थिए । त्यतिबेला विकल्पका रूपमा प्रयोग गरिएको यो सडक निकै साँघुरो र निकै असहज छ । बीपी राजमार्गको विकल्पमा काठमाडौं जोड्ने लामो दूरीका सडक मात्र छन् ।
पछिल्लो २ वर्षसम्म यस राजमार्गको विकल्प नहुँदा अब सम्पूर्ण सवारी साधनहरूको चाप नागढुंगा-मुग्लिन सडकमा पर्ने देखिएको छ । नागढुुंगा-मुग्लिन सडक खण्ड पनि विस्तार भइरहेको छ । नागढुंगादेखि नौबीसेसम्म सडक विस्तारको काम भइसकेको छ भने नौबीसेबाट मुग्लिनसम्मको विस्तारको काम भइरहेकै छ ।
अहिलेसम्म अस्थायी डाइभर्सनको भरमा पूर्वी नेपालका जिल्लामा आवतजावत भइरहेको छ । जुन पटक-पटक बाढी आउनेवित्तिकै खोलाले बगाउने गर्छ । पटक-पटक जिल्ला प्रशासनले सूचना जारी गर्दै यस राजमार्गबाट यात्रा नगर्न अनुरोध गर्नुपरिरहेको छ ।
गत साता मात्रै प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल आफ्नो निर्वाचन क्षेत्र पर्ने बीपी राजमार्गको अनुगमनमा पुगेका थिए । वर्षाको समयमा सहज यात्रा नहुने उनले बताएका थिए ।
यो राजमार्ग निर्माणको समय २०८४ असार मसान्तसम्म रहेको छ । समयमै सबै काम पूरा हुने हो भने राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै १ वर्ष लाग्ने देखिन्छ । यसको मतलब यात्रुहरूले यो राजमार्गबाट अझै १ वर्ष सहज यात्रा गर्न पाउने छैनन् ।