
गायक तथा चलचित्र निर्माता रामकृष्ण ढकालले साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
सामाजिक सञ्जालमा भइरहेको मानहानि र भ्रामक प्रचारविरुद्ध कानूनी प्रक्रियामा गएको उनले जानकारी दिएका छन् ।
'विगत केही समयदेखि सामाजिक सञ्जालका विभिन्न माध्यम, विशेषगरी फेसबूकमा केही व्यक्ति र समूहहरूले मेरो व्यक्तिगत चरित्र हत्या गर्ने, निकृष्ट गालीगलौज गर्ने, मानहानि गर्ने र मेरो लामो समयको अथक मेहनतबाट बनेको करियर नै सिध्याइदिने धम्कीसहितका भ्रामक भिडियो र पोस्टहरू फैलाइरहेका छन् । यस्ता गतिविधिले मेरो व्यक्तिगत जीवन र पेशागत प्रतिष्ठामा गम्भीर आघात पुर्याएको छ,' उनले लेखेका छन्, 'स्वतन्त्रताको नाममा कसैको अस्तित्वमाथि नै धावा बोल्ने यस्ता घृणित कार्यहरू सहन नसकिने भएकाले मैले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटीमा विधिवत रूपमा उजुरी दर्ता गराएको जानकारी गराउन चाहन्छु ।'
कसैको जीवन बर्बाद पार्ने हतियारका रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेहरूविरुद्धको आफ्नो लडाइँ रहेको र विचलित नहुने उनको भनाइ छ । 'सामाजिक सञ्जाललाई कसैको जीवन बर्बाद पार्ने हतियार बनाउनेहरूविरुद्धको यो लडाइँमा म विचलित हुने छैन । कानून र न्याय प्रणालीमाथि मेरो पूर्ण विश्वास छ । मेरो यो कदम साइबर अपराधको सिकार भइरहेका सबैका लागि एउटा बलियो सन्देश बन्नेछ भन्ने आशा राखेको छु । तपाईंहरूको निरन्तर साथ र सद्भावका लागि म सधैं कृतज्ञ छु,' उनले थप लेखेका छन् ।
यस्तो छ उनको स्टाटस :
सामाजिक सञ्जालमा भइरहेको मानहानि र भ्रामक प्रचार विरुद्ध कानूनी कदमको जानकारी 🙏🙏
यो हद पार गर्ने व्यक्तिहरूका लागि हो । बाँकी त बोल्न पाइने अधिकार छ । बहिष्कार पनि यहाँहरूको व्यक्तिगत स्वतन्त्रता भित्रै पर्दछ । बाँकी जे जसरी खुसी मिल्छ त्यो गर्नुहोस् । जे जस्तो गर्नुहुन्छ त्यसले तपाईँकै व्यक्तित्व झल्कने हो । सहन सकिने सहेर नसकिने केही व्यक्तिहरूलाई कारबाहीको माग सहित कानूनी प्रक्रिया अनुरूप अगाडि बढेको छु ।
आदरणीय शुभचिन्तक तथा मित्रहरू, विगत केही समयदेखि सामाजिक सञ्जालका विभिन्न माध्यम, विशेषगरी फेसबुकमा केही व्यक्ति र समूहहरूले मेरो व्यक्तिगत चरित्र हत्या गर्ने, निकृष्ट गालीगलौज गर्ने, मानहानि गर्ने र मेरो लामो समयको अथक मेहनतबाट बनेको करियर नै सिध्याइदिने धम्कीसहितका भ्रामक भिडियो र पोस्टहरू फैलाइरहेका छन् । यस्ता गतिविधिले मेरो व्यक्तिगत जीवन र पेशागत प्रतिष्ठामा गम्भीर आघात पुर्याएको छ ।
स्वतन्त्रताको नाममा कसैको अस्तित्वमाथि नै धावा बोल्ने यस्ता घृणित कार्यहरू सहन नसकिने भएकाले मैले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटीमा विधिवत रूपमा उजुरी दर्ता गराएको जानकारी गराउन चाहन्छु । जापानबाट सञ्चालित "Kekaj online Nepal" नामक फेसबुक पेजले शृंखलाबद्ध प्रहार गरिरहेकोमा पहिलो कदमस्वरूप कानूनी कदम चालेको छु । यसका साथै विश्वका जुनसुकै कुनामा बसेर फेक आइडीमार्फत घृणा फैलाउने, भ्रामक कुरा लेख्ने र मेरो चलचित्र 'मालती मंगले' तथा अन्य प्रोजेक्टहरूलाई समेत लक्षित गरी मानसिक तनाव दिने सबै दोषीहरूलाई कानूनी कठघरामा ल्याउन मैले डिजिटल प्रमाणसहित विवरण बुझाएको छु ।
अहिलेलाई "Kekaj online Nepal" नामक पेजबाट प्रक्रिया शुरू भए पनि यस प्रकारको अपराधमा संलग्न अन्य सबै फेक आईडी र पेजहरूलाई क्रमशः रिपोर्ट गर्ने र कानूनी कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ । सामाजिक सञ्जाललाई कसैको जीवन बर्बाद पार्ने हतियार बनाउनेहरू विरुद्धको यो लडाइँमा म विचलित हुने छैन । कानून र न्याय प्रणालीमाथि मेरो पूर्ण विश्वास छ । मेरो यो कदम साइबर अपराधको सिकार भइरहेका सबैका लागि एउटा बलियो सन्देश बन्नेछ भन्ने आशा राखेको छु । तपाईँहरूको निरन्तर साथ र सद्भावका लागि म सधैं कृतज्ञ छु ।
मालती मंगले देशभर प्रदर्शनमा आइसकेको छ कलाप्रेमी महानुभावहरूले आफ्नो नजिकको सिनेमा घरमा गई हेरिदिनुहोला जे जस्तो लाग्छ निसंकोच आफ्नो प्रतिक्रिया पनि दिनुहोला ।