चक्रपथ राजधानी काठमाडौंको यातायात र शहरी स्वरूपको मुख्य आधार हो । कोटेश्वरदेखि कलंकीसम्मको ८ लेन सडक विस्तार सम्पन्न भइसके पनि कलंकीदेखि चक्रपथसम्मको खण्ड भने वर्षौंदेखि धुलो, जाम र अव्यवस्थाले ग्रस्त रहँदै आएको थियो ।
चीनसँग सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि विभिन्न प्रशासनिक र प्राविधिक प्रक्रियाका कारण चक्रपथ विस्तारको दोस्रो खण्ड अगाडि बढ्न सकेको थिएन ।
सरकार परिवर्तन, मन्त्रालयको नेतृत्व फेरबदल र प्रक्रिया दोहोरिँदा आयोजना लामो समय कागजमै सीमित बनेको थियो ।
अब भने कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढ्ने भएको छ । चीन सरकारको सहयोगमा उक्त सडक ८ लेनमा विस्तार गरिने तयारी अन्तिम चरणमा पुगेको हो ।
सरकारले चक्रपथको कलंकी–महाराजगञ्ज खण्ड विस्तारका लागि चीनसँग २०७५ सालमै सम्झौता गरेको थियो । तर, साइट क्लियर गर्ने काम, प्राविधिक तयारी तथा सहायतासम्बन्धी प्रक्रिया टुंग्याउन लामो समय लागेको थियो ।
हाल बालेन शाह नेतृत्वको सरकारले सहायतासम्बन्धी सम्झौता प्रक्रिया टुंग्याएको छ । गत वैशाख १६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले चीनसँग अनुदानसम्बन्धी प्रक्रिया पूरा गरेका हुन् ।
यस परियोजनाका लागि चीन सरकारले ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । यससँगै निर्माण कार्य अघि बढाउने बाटो खुलेको सरकारी अधिकारीहरूले बताएका छन् ।
यसअघि कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक २०७५ सालमै विस्तार सम्पन्न भएको थियो । उक्त खण्ड विस्तारका लागि चीनले करिब ५ अर्ब रुपैयाँ अनुदान दिएको थियो भने नेपाल सरकारले निर्माण सामग्रीमा कर छुट दिएको थियो ।
दोस्रो खण्डमा पनि सोही मोडेलअनुसार काम हुने भएको छ । मन्त्रिपरिषद्ले गत फागुन १२ गते निर्माण सामग्रीमा भन्सार छुट दिने निर्णय गरिसकेको छ ।
अब विस्तार गरिने सडक चीनको शहरी सडक मापदण्डअनुसार कुल ३८.५ मिटर चौडा हुनेछ । दुवैतर्फ २.७५ मिटर चौडाइका फुटपाथ रहनेछन् भने चार–चार लेनका दुईतर्फी सडक निर्माण गरिनेछ । सडकको बीच भागमा हरियाली, विद्युत् तथा इन्टरनेट व्यवस्थापनका लागि छुट्टै तीन मिटर क्षेत्र छुट्याइने योजना छ ।
२०७५ सालदेखि नै यस खण्डका संरचना हटाउने काम शुरू गरिएको थियो । अधिकांश साइट क्लियर भइसकेकाले अब मुख्य रूपमा निर्माण कार्यमा केन्द्रित हुने तयारी गरिएको छ ।
काठमाडौं चक्रपथ सुधार आयोजना प्रमुख डी.ई. आशिका पोखरेलका अनुसार पहिलो चरणमा चिनियाँ पक्षले डिजाइन पेश गर्नेछ । डिजाइन स्वीकृतिपछि निर्माण कार्य अगाडि बढाइनेछ ।
सडक विस्तारसँगै आधुनिक संरचना निर्माणको योजना पनि अघि सारिएको छ । यसअन्तर्गत चारवटा आकाशे पुल निर्माण गर्ने प्रस्ताव छ । ती पुल अपाङ्गमैत्री हुने जनाइएको छ ।
सीतापाइला–स्वयम्भू चोक, ढुंगेधारा–बालाजु, बालाजु–माछापोखरी तथा सामाखुसी–बसुन्धरा चौकीबीच आकाशे पुल निर्माण गर्ने योजना छ ।
त्यसैगरी, कलंकी–स्युचाटार क्षेत्रको सानो पुल चौडा बनाइनेछ भने विष्णुमती नदीमाथिको पुल पनि विस्तार गरिनेछ । आवश्यकता अनुसार एउटा नयाँ पुल थप निर्माण गर्नुपर्ने सम्भावना पनि औंल्याइएको छ ।
माछापोखरीदेखि बसपार्कसम्म ओभरपास निर्माणको प्रस्ताव समेत गरिएको छ । तर, उक्त संरचना तत्काल निर्माण गर्ने वा नगर्ने विषयमा भने अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ ।
चक्रपथको दोस्रो खण्ड विस्तार सम्पन्न भएपछि बाँकी रहने महाराजगञ्जदेखि कोटेश्वरसम्मको तेस्रो खण्ड भने नेपाल सरकारले आफैं विस्तार गरिरहेको छ ।
सडक डिभिजन काठमाडौंले महाराजगञ्जदेखि चप्पल कारखानासम्म करिब ९०० मिटर सडक विस्तारको काम लगभग सम्पन्न गरिसकेको जनाएको छ ।
चप्पल कारखानादेखि धोबीखोलासम्मको विस्तार पनि सडक डिभिजन कार्यालय काठमाडौंले नै अगाडि बढाउने तयारी गरेको छ ।
हेर्नुहोस्, भिडियो: