
पश्चिम नवलपरासीमा जीवित व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा वडा अध्यक्षसहित ३ जना कारागार चलान भएका छन् ।
सुस्ता गाउँपालिका–५ रामनगरका ६६ वर्षीय जमालुद्दिन मुसलमान जीवित हुँदाहुँदै मृत्यु दर्ता प्रमाणपत्र बनाएको अभियोगमा उनीहरूलाई जिल्ला अदालतले कारागार चलान गरेको हो ।
उनीहरूमाथि 'झुटा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरे/गराएकोसम्बन्धी कसुर'मा मुद्दा दायर गरिएको थियो । उक्त प्रकरणमा संलग्न ११ मध्ये दुई जना धरौटीमा रिहा भएका छन् भने ६ जना फरार रहेका छन् ।
जिल्ला अदालतका सूचना अधिकारी शाखा अधिकृत भेषराज खनालले वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी र तारिख मियालाई पुर्पक्षका लागि कारागार पठाएको बताए ।
उनीहरूले झुटा विवरणका आधारमा मृत्यु दर्ताको निवेदन दिने, सिफारिस गर्ने र प्रमाणपत्र जारी गरेको पाइएपछि थुनामा पठाइएको सूचना अधिकारी खनालले बताए ।
सोही अभियोगमा पक्राउ परेका इशानेसा मिया र छोटे खाँ ५० हजार धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा हुने र फरार सबै मुचुल्कामा साक्षी बस्ने हुन् ।
के हो घटना ?
पुर्पक्षका लागि थुनामा पठाइएका ३१ वर्षीय तारिख मियाका बाबु जमालुद्दिन अन्सारीको २०६० जेठ ३० गते मृत्यु भएको थियो ।
बाबुको नामसँग मिल्ने सोही ठाउँका जीवित व्यक्ति जमालुद्दिन मुसलमानको मृत्यु भएको भन्दै वडामा निवेदन दिएका थिए ।
आफ्नै मृत्यु दर्ता बनाएको थाहा पाएपछि जमालुद्दिनले प्रहरीमा जाहेरी दिएपछि उक्त रहस्य खुलेको हो ।
मुसलमान समुदायहरूले नामको पछाडि अन्सारी, मिया, मुसलमानलगायतका थर लेख्ने प्रचलन छ ।
त्यसैको फाइदा उठाउँदै तारिखले जीवित व्यक्तिको नागरिकता र आफ्नो जन्म दर्ताको प्रतिलिपि संलग्न गरी मृत्यु दर्ताका लागि २०८२ कात्तिक २३ गते वडामा निवेदन दिएका थिए । सर्जमिनका आधारमा वडा सचिवले मंसिर महिनामा जीवित व्यक्तिको मृत्यु दर्ता गरिदिएका थिए ।
तारिखका मृतक बाबुको नागरिकता थिएन । आफ्नो नागरिकता बनाउनका लागि तारिखले जीवित व्यक्तिको मृत्यु दर्ता गरेको बताइएको छ ।