०५ साउन २०८३, मंगलबार

स्कटल्यान्डले नेपाल ‘ए’लाई दियो ३०३ रनको लक्ष्य

बैशाख २६, २०८३
काठमाडौं
स्कटल्यान्डले नेपाल ‘ए’लाई दियो ३०३ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाका लागि खेलिएको अभ्यास खेलमा शनिबार स्कटल्यान्डले नेपाल ‘ए’ टोलीलाई जितका लागि तीन सय तीन रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको हो ।

स्कटल्यान्डका लागि ओपनर ब्याट्सम्यान जर्ज मुन्सीले ६२ रनको योगदान गरे । उनले केवल ५१ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काए ।

माइकल इङ्लिसले पनि अर्धशतकीय पाली खेले । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ५६ बलमा ३ छक्काको मद्दतले अविजित ५६ रन जोडेका हुन् ।

अर्का ओपनर फिनले म्याक्रेथले पनि ३० रन बनाए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ब्राडन म्याकमुलेनले टोलीको खातामा ३९ रन थपे ।

रिची बेरिङ्टनले पनि ४० रनको योगदान गरे । छैटौँ नम्बरका ब्याट्सम्यान म्याथ्यू क्रसले पनि २५ रन बटुले । ज्याक जार्भिसले ३० रन बनाए ।

नेपाली टोलीका बलर आकाश चन्दले तीन विकेट लिए । शेर मल्ल, विपिन खत्री, पवन सर्राफ र कुशल मल्लले पनि एक/एक विकेट हात पारे ।

नेपाल ‘ए’ टोलीले यसअघि दुई खेलमा आफूभन्दा बलिया टोलीलाई हराइसकेको छ । नेपाल ‘ए’ले बिहीबार खेलिएको खेलमा स्कटल्यान्डलाई ४५ रनले हराएको थियो ।

यसैगरी, शुक्रबार मूलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकालाई पनि तीन विकेटले हराएको थियो ।

नेपालको सिनियर टोलीले अर्को साता स्कटल्यान्ड र अमेरिकासँग घरेलु मैदानमा लिग–२ शृंखला खेल्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्