३२ असार २०८३, बिहीबार

राष्ट्रियताका मुद्दामा कांग्रेसले सरकारलाई पूरा सहयोग गर्छ- गगन थापा

बैशाख २६, २०८३
धनगढी
राष्ट्रियताका मुद्दामा कांग्रेसले सरकारलाई पूरा सहयोग गर्छ- गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताएका छन् । 

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शनिबार धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ भेलालाई सम्बोधन गर्दै उनले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने बताएका हु्न् । 

राष्ट्रियताका मुद्दामा कांग्रेसले यो पार्टी त्यो पार्टी कहिल्यै नभनेको स्पष्ट पार्दै सभापति थापाले वर्तमान सरकारलाई पनि सोहीअनुसार सहयोग हुने, तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताए ।

उनले लोकतन्त्रमा कानूनी वैधता नहेरेर नैतिक वैधतालाई हेर्नुपर्नेमा जोड दिए । ‘हिजो कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्‌मा आफ्नो अनुकूलताको निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव लगाउन तयारी गरिएको थियो । हामीसँग संख्या र आधार पनि थिए, तर पनि महाअभियोगको विपक्षमा उभियौं’, सभापति थापाले भने । 

उनले नेता कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आ-आफ्नो जिम्मेवारीअनुसार संगठनको काममा लाग्न निर्देशन दिए । सभापति थापाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारीभन्दा बाहिर राखिने पनि उल्लेख गरे । 

कांग्रेस उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ्ने समय आएको बताए । उनले भने, ‘अब कांग्रेसले नयाँ ढङ्गले सोच्नुपर्ने समय आएको छ । अब पार्टी मात्र होइन, समाजलगायत सबैलाई सम्हालेर साझा संगठन बनाउने जिम्मेवारी आएको छ ।’

महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराखेर पार्टी संगठन एकीकृत र सुदृढ पार्दै अघि बढ्ने बताए । पार्टीमा कुनै अवसर नपाएर किनाराकृत गरिएका क्षमतावान् र निष्ठावन् नेता कार्यकर्ताको उचित मूल्यांकन गरिने पनि उनको भनाइ थियो । 

कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीलाई एक ढिक्का बनाएर लिनुपर्नेमा जोड दिए । उनले पार्टीमा महत्त्वूर्ण योगदान गरेका पूर्वसभापति शेरबहादुर देउवालगायत नेताको सम्मानजनक अवस्थाका लागि ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरे । 

दुईदिने उक्त कार्यक्रममा पार्टीको तर्फबाट प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग विविध विषयमा छलफल गर्न लागिएको जनाइएको छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्