
लेबनानमा इजरायलले गरेको भीषण हवाई आक्रमणमा एकैदिन ३९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार दक्षिणी शहर साक्साकियेहमाथि भएको इजरायली आक्रमणमा एक बालिकासहित कम्तीमा सात जनाको ज्यान गएको छ । अन्य १५ जना घाइते भएका छन्, जसमा तीन बालबालिका पनि रहेका छन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले भने आफूले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । आक्रमणबाट सर्वसाधारण प्रभावित भएको विषयमा जानकारी रहेको पनि आईडीएफले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल १६ मा इजरायल र लेबनानबीच युद्धविराम घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्लाहबीच लगातार आक्रमण–प्रत्याक्रमण जारी छ ।
लेबनानको सरकारी समाचार संस्था एनएनएका अनुसार शनिबार दक्षिणी क्षेत्रका विभिन्न स्थानमा इजरायली आक्रमण भएका थिए । साक्साकियेहमा भएको आक्रमणबारे आईडीएफले ‘सैनिक प्रयोजनका लागि प्रयोग भइरहेको संरचनाभित्र रहेका हिजबुल्लाह लडाकुहरूलाई निशाना बनाइएको’ दाबी गरेको छ । सर्वसाधारणलाई क्षति कम गर्न सटीक हतियार र हवाई निगरानी प्रयोग गरिएको पनि उसले जनाएको छ ।
यस्तै, नाबाटियेह क्षेत्रमा मोटरसाइकलमा सवार एक सिरियाली नागरिक र उनकी १२ वर्षीया छोरीमाथि ड्रोन आक्रमण भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो आक्रमणपछि उनीहरू घटनास्थलबाट हट्न खोज्दा पुनः ड्रोन आक्रमण भएको र त्यसपछि तेस्रोपटक बालिकालाई प्रत्यक्ष निशाना बनाइएको मन्त्रालयको दाबी छ ।
यसबीच हिजबुल्लाहले पनि ड्रोनमार्फत उत्तरी इजरायलमा आक्रमण गरेको जनाएको छ । इजरायली सेनाका अनुसार उक्त आक्रमणमा तीन सैनिक घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक सातामा इजरायली आक्रमणबाट देशभर १२० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । तीमध्ये महिला र बालबालिका पनि रहेका छन् ।
इजरायली सेनाले सीमा क्षेत्रको लेबनानी भूभागमा आफ्नो उपस्थिति कायम राखेको छ । इजरायलले उक्त क्षेत्रलाई हिजबुल्लाहमुक्त सुरक्षा क्षेत्र बनाउने उद्देश्य रहेको बताएको छ । मानवअधिकार समूहहरूले भने केही कारबाही युद्ध अपराधअन्तर्गत पर्न सक्ने बताएका छन् ।
सन् २०२४ नोभेम्बरमा इजरायल र हिजबुल्लाहबीच युद्धविराम भए पनि त्यसपछि पनि इजरायलले हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरूमा नियमित आक्रमण गर्दै आएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी इरानका सर्वोच्च नेताको हत्या गरेपछि हिजबुल्लाहले मार्च २ मा इजरायलमाथि रकेट र ड्रोन आक्रमण गरेको थियो । त्यसपछि इजरायलले लेबनानमा पुनः व्यापक हवाई आक्रमण शुरू गरेको थियो ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता देशभर २ हजार ७९५ जनाको मृत्यु भइसकेको छ । इजरायली अधिकारीहरूका अनुसार यस अवधिमा दक्षिणी लेबनानमा १७ सैनिक र एक सर्वसाधारण तथा उत्तरी इजरायलमा दुई सर्वसाधारण मारिएका छन् ।