१२ साउन २०८३, मंगलबार
सांसदको प्रशिक्षणमा रास्वपा सभापति

प्रधानन्यायाधीश सिफारिसबारे रवि– योग्य भनिएकै ६ मध्ये १ जना रोज्दा कसरी संविधानविपरीत भयो ?

बैशाख २७, २०८३
काठमाडौं
प्रधानन्यायाधीश सिफारिसबारे रवि– योग्य भनिएकै ६ मध्ये १ जना रोज्दा कसरी संविधानविपरीत भयो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसमा विधि, परम्परा र संविधान मिचेको भन्ने आरोप गलत भएको बताएका छन् ।

न्यायपरिषद्को सिफारिसकै आधारमा ६ मध्ये एक जनाको नाम संवैधानिक परिषद्ले सिफारिस गरेको उनले बताए ।

रास्वपा सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई आइतबार ललितपुरमा सम्बोधन गर्दै लामिछानेले प्रधानन्यायाधीश सिफारिस विधि र संविधानअनुसार नै गरिएको बताएका हुन् ।

‘संवैधानिक परिषद् र सिफारिसको विषयलाई असंवैधानिक भयो, परम्पराभन्दा बाहिर गएको भनिएको छ । कसरी असंवैधानिक भयो ? ६ जनालाई सिफारिस किन गरिएको हो, त्यो संविधानविपरीतको काम हो ?’ लामिछानेले प्रश्न गरे ।

संविधानमै ६ जनाको सट्टा वरिष्ठतमलाई चुन्नु भनेर लेखेको भए सरकारले सोहीअनुसार गर्ने उनको भनाइ थियो ।

‘६ जना न्यायाधीशहरूको सिफारिस रास्वपाको उपस्थितिमा भएको होइन, सिफारिस भएर बसेको थियो । योग्यतम नामबाट प्रधानन्यायाधीशको चयन गरौँ भन्ने कुरा गलत हो भने, संविधान संशोधनको चर्चा चलिरहेको छ, बहस गरौं’ लामिछानेले भने ।

परम्परा भत्काइयो भन्ने कुरामा पनि उनले असहमति जनाए ।

‘परम्परा भत्काइयो भन्ने कुरामा, यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले ६ जनाको उपस्थिति भएको परिषदमा भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो, हामीलाई भागबन्डामा विश्वास छैन,’ लामिछानेले भने ।

विधि र संविधानलाई मानेर एक जनालाई सिफारिस गरिएको उनको भनाइ छ ।

‘यसबारे चुनौतीपूर्ण अभिव्यक्ति दिएर के लाभ हुन्छ ? मेरो घाँटी त्यहीँ (अदालत)मा छ, रिस उठेको छ भने चलाइदिनुस् हतियार । नत्र न्यायालयको गरिमा, प्रतिष्ठालाई सडकको विषय बनाउनुहुँदैन,’ लामिछानेले भने ।

संवैधानिक परिषद्ले डा. विनोद शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गरेपछि शनिबार कानून दिवसको अवसरमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले चर्को असन्तुष्टि जनाएकी थिइन् ।

उनले दुईतिहाइको डर र प्रभावमा पारेर न्याय सम्पादन हुन नसक्ने बताएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्