
प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर)ले आफूलाई स्मार्ट टेलिकमको अनियमितका नाममा अनावश्यक रूपमा मुछिएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी दिएर कार्यक्रमको सन्दर्भमा स्विट्जरल्यान्ड गएको अवस्थामा आफूलाई स्मार्ट टेलिकमको भ्रष्टाचारका विषयमा मुछिएको बताए ।
पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता खरेलले त्यस्ता अपुष्ट र गलत समाचार पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमलाई चुनौती दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रेस काउन्सिल नेपालको पनि ध्यानाकर्षण गराएका छन् ।
स्मार्ट टेलिकमको अनियमितमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिक जीवनबाट सधैंका लागि बिदा हुने उनले बताए । ‘स्मार्ट टेलिकम प्रकरणमा मैले एउटा मिटिङ, फाइल पारित गर्ने, मन्त्रालय वा सम्बद्ध कुनै निकायसँग एउटा बैठक मात्रै गरेको रहेछु भने मैले मेरो राजनीतिक जीवनबाट सधैंका लागि बिदा लिन्छु,’ उनले भने ।