
साइप्रस पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका–८ की ३३ वर्षीया नौमाया आले मगर छन् ।
उनले हस्तबहादुर खत्रीलाई वर्किङ भिसामा साइप्रस पठाइदिने प्रलोभन देखाउँदै अफर लेटरसमेत देखाई राहदानीलगायतका कागजात लिई विभिन्न बहाना बनाएर विश्वासमा पारी ६ लाख ४ हजार ५ सय रूपैयाँ ठगी गरेको आरोप छ ।
अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई देवचुली नगरपालिका–८ बाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकी आले मगरलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।