
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डले सोमबार राति पत्रकार सम्मेलन गरेर नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी 'ग्रेडेड' अर्थात् उत्तीर्ण भएको जानकारी गराएको हो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष देशभरबाट कुल ४ लाख ३० हजार ६६७ जना विद्यार्थी परीक्षामा सहभागी भएको जानकारी दिए । जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले विभिन्न ग्रेड प्राप्त गर्दै सफलता हासिल गरेका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थी 'नन-ग्रेडेड' (एनजी) मा परेका छन्।
सार्वजनिक नतिजाको जीपीए वर्गीकरण अनुसार सबैभन्दा माथिल्लो ग्रेड अर्थात् ३.६ देखि ४ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ। त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ जना रहेका छन्।
बोर्डका अनुसार २.८ देखि ३.२ जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी अर्थात् ९४ हजार २२२ रहेको छ। यस्तै, २.४ देखि २.८ जीपीए ५५ हजार ९७७ जनाले प्राप्त गरेका छन् भने २ देखि २.४ जीपीए ल्याउनेको सङ्ख्या ५ हजार १९० रहेको छ। नतिजा अनुसार १ देखि २ जीपीए प्राप्त गर्ने विद्यार्थी ७ जना मात्र रहेका छन्।