
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकी एक महिलाविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले गोरखाको बारपाक सुलिकोट गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएकी सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार विशेष अदालतमा दर्ता भएको चन्द्रबहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धानका क्रममा सहयोग गरेको भन्दै पुडासैनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो ।
तर, उनले विशेष अदालतमा यही वैशाख ९ गते दिएको बकपत्र आयोगसमक्ष अनुसन्धानका क्रममा दिएको बयान तथा आरोप मागदाबीविपरीत रहेको पाइएपछि आयोगले थप अनुसन्धान गरेको थियो ।
अनुसन्धानबाट चन्द्रबहादुर अधिकारीले लिएको घुस रकमको ५० लाख रूपैयाँ बराबरको चेक ‘सुमित्रा कस्मेटिक एण्ड फेन्सी’का नाममा काटिएको र उक्त फर्मकी सञ्चालक पुडासैनीलाई उपलब्ध गराइएको खुलेको आयोगले जनाएको छ ।
आयोगका अनुसार चेक प्राप्त गरेपछि उनले रकम सटहीका लागि बैंकमा लगेकी थिइन् । चेक सटही नभएपछि भने उनले उक्त चेक फिर्ता गरेको पाइएको छ । आयोगले यसलाई घुस/रिसवत लिने कार्यमा सहयोग पुर्याएको कसुर मानेको छ ।
उक्त कार्यबाट उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगको निष्कर्ष छ ।
आयोगले उनीविरुद्ध ५० लाख रूपैयाँ बिगो कायम गर्दै सोही ऐनबमोजिम कैद र बिगोअनुसार जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।