
भारतीय समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवका सौतेनी भाइ प्रतीक यादवको बुधबार बिहान निधन भएको छ। उनी ३८ वर्षका थिए। उनी भारतीय जनता पार्टी (भाजपा) नेतृ अपर्णा यादवका पतिसमेत हुन् ।
अस्पताल स्रोतका अनुसार प्रतीकलाई बुधबार बिहान करिब ६ बजे लखनउको सिभिल अस्पताल पुर्याइएको थियो । त्यहीँ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। अस्पताल ल्याइपुर्याउनु अघि नै उनको मृत्यु भइसकेको चिकित्सकहरूले बताएका छन्।
प्रतीक यादव स्वर्गीय मुलायम सिंह यादवका कान्छा छोरा हुन्। आफ्ना दाजु अखिलेश यादव राजनीतिमा सक्रिय रहे पनि प्रतीक भने प्रत्यक्ष राजनीतिबाट टाढै थिए।
हालसम्म उनको मृत्युको ठोस कारण खुल्न सकेको छैन। वास्तविक कारण पत्ता लगाउन शवको पोस्टमार्टम भइरहेको र रिपोर्ट आएपछि मात्र थप जानकारी प्राप्त हुने अस्पतालले जनाएको छ।