
नेपालमा दुई पाङ्ग्रे पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रोयल इन्फिल्ड नेपालले ‘रेन्टल पार्टनर्स’ मीट २०२६’ सम्पन्न गरेको छ। ललितपुरको रोयल टुलिप होटलमा सम्पन्न कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका ४० मोटरसाइकल रेन्टल कम्पनीका सञ्चालक, रोयल इन्फिल्ड इन्डियाका प्रतिनिधि तथा अल्फा अटोमोटिभका कर्मचारीहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेपालमा विस्तार भइरहेको मोटरसाइकल पर्यटन क्षेत्रका सम्भावना, चुनौती र दिगो विकासका उपायबारे छलफल गरिएको थियो । सहभागीहरूले नियामकीय जटिलता, पूर्वाधार अभाव तथा व्यावसायिक दिगोपनासम्बन्धी समस्याबारे धारणा राखेका थिए ।
साथै, सरकारी निकायसमक्ष साझा सुझाव प्रस्तुत गर्न उद्योगबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रममा वक्ताहरूले दुई पाङ्ग्रे पर्यटनले नेपालमा विदेशी पर्यटक भित्र्याउने, रोजगारी सिर्जना गर्ने तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए ।
उनीहरूले नेपाललाई एड्भेन्चर मोटरसाइकलिङको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न पनि यो क्षेत्र महत्त्वपूर्ण हुने उल्लेख गरेका थिए ।
अल्फा अटोमोटिभले रेन्टल पार्टनरहरूसँग सहकार्य, समन्वय तथा उद्योगसम्बन्धी जानकारी आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी रोयल इन्फिल्डले नेपालमा राइडिङ इकोसिस्टम लाई थप सशक्त बनाउन पार्टनरशिप, कम्युनिटी इन्गेजमेन्ट तथा सस्टेनेबल टुरिज्म इनिसियटिभ्सलाई निरन्तरता दिने जनाएको छ। ‘रेन्टल पार्टनर्स’ मीट २०२६’ सहभागीहरूबीच सहकार्य र निरन्तर संवादलाई थप मजबुत बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको थियो।
रोयल इन्फिल्डबारे सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो ।
प्योर मोटरसाइकलिङ अवधारणालाई अघि बढाउँदै आएको कम्पनीले हालै सार्वजनिक गरिएको गुरिल्ला ४५० सहित हन्टर ३५०, क्लासिक ३५०, हिमालयन ४५०, मेटिओर ३५०, इन्टरसेप्टर ६५० लगायतका प्रिमियम मोडल उत्पादन गर्दै आएको छ ।
आइशर मोटर्स लिमिटेड अन्तर्गत सञ्चालित रोयल इन्फिल्ड को विश्वका ८० भन्दा बढी देशमा उपस्थिति रहेको छ । नेपालसहित विभिन्न देशमा कम्पनीका सीकेडी एसेम्बली फेसिलिटिज सञ्चालनमा छन् ।

