
अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकलाई विभिन्न मुलुक हुँदै अवैध रूपमा लैजाने, बन्धक बनाउने, यातना दिने र करोडौं रूपैयाँ असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा र दाङको शान्तिनगर गाउँपालिका–३ का २६ वर्षीय लोकमान खत्री रहेका छन् ।
ब्यूरोका अनुसार थापाले सामाजिक सञ्जाल ‘ह्वाट्सएप’मार्फत एक महिलासँग चिनजान गरी ६० लाख रूपैयाँमा अमेरिका पठाइदिने प्रलोभन दिएका थिए ।
उनले पीडितलाई २०७८ वैशाख ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याई ‘ग्रान्ड नोभा होटल’मा करिब एक महिना राखेका थिए ।
त्यसक्रममा अमेरिका भिसा प्रक्रिया मिलाइदिने भन्दै दुबईस्थित एजेन्टमार्फत पीडितबाट ३५ हजार दिराम (करिब ८ लाख रूपैयाँ), पासपोर्ट र फोटो लिइएको प्रहरीले जनाएको छ । त्यसपछि भिजिट भिसामा पीडितलाई दुबईबाट बहराइन, टर्की, ब्राजिल, पेरु हुँदै कोलम्बिया लगिएको थियो ।
ब्यूरोका अनुसार अमेरिका लैजाने आश्वासन देखाउँदै पीडितलाई एक वर्षसम्म विभिन्न स्थानमा बन्धक बनाइ शारीरिक तथा मानसिक यातना दिइएको थियो । पीडितमाथि जबर्जस्ती करणीसमेत भएको प्रहरीको भनाइ छ।
नेपाल फर्काइदिन आग्रह गर्दा थापाले थप रकम मागेका थिए । त्यसपछि पीडितले अमेरिकामा रहेका साथीमार्फत् विभिन्न विदेशी बैंक खाता र ‘वेस्टर्न युनियन मनी ट्रान्सफर’मार्फत पटक–पटक गरी ९८ हजार ९ सय अमेरिकी डलर (करिब १ करोड ४२ लाख रुपैयाँ) पठाएको अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि एजेन्टमार्फत पीडितलाई कोलम्बियाबाट पानामाको जंगल हुँदै मेक्सिकोको तापाचुला बोर्डरसम्म पुर्याइएको थियो । त्यहाँबाट नेपाल फर्किन थप २० हजार डलर माग गरिएको र रकम दिन नसकेपछि पीडितलाई मेक्सिकोमै अलपत्र पारिएको प्रहरीले जनाएको छ ।
अन्ततः पीडित अमेरिकास्थित आफन्त र नेपाली दूतावासको सहयोगमा ‘वन वे ट्राभल डकुमेन्ट’ बनाएर यही वैशाख २ गते नेपाल फर्किन सफल भएकी थिइन् ।
उक्त घटनामा संलग्न थापालाई प्रहरीले यही वैशाख २८ गते पोखरा महानगरपालिका–१७ बाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
यस्तै, अर्को घटनामा लोकमान खत्रीले बेलायत पठाइदिने भन्दै एक व्यक्तिबाट ६५ लाख २६ हजार ७ सय ८० रूपैयाँ ठगी गरेको आरोप लागेको छ ।
प्रहरीका अनुसार उनले शुरूमा २५ लाख रूपैयाँमा भिजिट भिसामा बेलायत पठाइ, पछि ‘वर्किङ भिसा’मा परिवर्तन गरी मासिक २ लाख रूपैयाँसम्म आम्दानी हुने काममा लगाइदिने आश्वासन दिएका थिए । त्यसका लागि उनले शुरूमा ४ लाख रूपैयाँ आफ्नो खातामा जम्मा गराएका थिए ।
पछि बेलायतको भिसा नआएको भन्दै अमेरिका पठाइदिने प्रस्ताव राखेर थप ४५ लाख रूपैयाँ माग गरेका थिए । त्यसपछि पीडितलाई दुबई, भारत, कतार, स्पेन, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, हन्डुरस र मेक्सिको हुँदै अवैध रूपमा अमेरिका पुर्याइएको थियो ।
अमेरिकी प्रहरीले अवैध रूपमा अमेरिका प्रवेश गरेको आरोपमा ती व्यक्तिलाई पक्राउ गरी १४ महिनासम्म जेलमा राखेको थियो । त्यसपछि उनलाई २०८२ चैत २४ गते डिपोर्ट गरी नेपाल पठाइएको थियो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेको आरोपमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय सल्यानसँगको समन्वयमा यही वैशाख २८ गते पक्राउ गरिएको ब्यूरोका एसपी राजन लिम्बूले जानकारी दिए ।
प्रहरीका अनुसार खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा यसअघि पनि ठगी मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा उनले ३ लाख रूपैयाँ धरौटी बुझाएर तारेखमा छुटेको खुलेको छ ।