२३ असार २०८३, मंगलबार

सरसर्ती २४ घण्टा : यस्ता छन् देशभरका मुख्यमुख्य घटनाक्रम

जेठ २, २०८३
काठमाडौं
सरसर्ती २४ घण्टा : यस्ता छन् देशभरका मुख्यमुख्य घटनाक्रम

लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ५ करोड पुगेको छ ।

महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन अनुसार सार्वजनिक ऋणमा बाह्य ऋणको हिस्सा ५२.५७ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.४३ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष सार्वजनिक ऋण कूल गार्हस्थ उत्पादन ९जीडीपी०को ४२.६७ प्रतिशत रहेकोमा यो वर्ष बढेर ४३.७९ प्रतिशत पुगेको देखिएको छ । महालेखाको प्रतिवेदनले मुलुकको ऋण दायित्व निरन्तर बढिरहेको संकेत गरेको छ ।
००००
आज हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । अब बैठक सोमबार हुने छ ।
बैठकमा पार्टीभित्रको कार्यविभाजनलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
००००
इँट्टाको चाङले थिच्चिएर सर्लाहीको हरिपुरमा एक भारतीयसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार साँझ हरिपुर नगरपालिका–५, मजुर्वा गाउँमा रहेको कृष्ण इँट्टा उद्योगमा इँट्टा निकाल्ने क्रममा इँट्टाको चाङले थिच्चिएर तीन जनाको मृत्यु भएको हो । 
००००
सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश गरेको छ । 

न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइपछि हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको हो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले पाठकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पूर्जी दिएर कारागार चलान गर्न आदेश दिएको हो ।
००००
नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ कोषाध्यक्ष मनोनीत भएका छन् ।
सभापति गगन थापाले उनलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) अनुसार श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका हुन् ।
००००
नेपालमा पहिलोपटक ठूलो दायरामा सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन प्रक्रिया शुरू भएको छ ।
पूर्वप्रधानमन्त्रीदेखि पूर्वन्यायाधीश, मन्त्री, सांसद, सुरक्षा निकायका उच्च अधिकारी र सरकारी संस्थानका प्रमुखसम्म गरी करिब ३० हजार जनालाई ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन आयोगले अल्टिमेटम दिएको छ ।
००००
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक समीक्षामा विद्यमान लचिलो कार्यदिशालाई निरन्तरता दिएको छ । 

समीक्षामा केन्द्रीय बैंकले मुलुकको बाह्य क्षेत्र बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधिमा अझै अपेक्षित सुधार आउन नसकेको विश्लेषण गरेको छ।
००००
सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गर्नुभएको सर्वोच्च अदालतका सह प्रवक्ता निराजन पाण्डेले बताए ।
००००
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालकलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले शैक्षिक परामर्श केन्द्रहरूले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्वतयारी कक्षा, भाषा शिक्षणसम्बन्धी सेवा प्रदान गर्दै आएकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
००००
यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ ।
००००
नेपाल प्रहरीले एकैपटक १४९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ।
 प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रबार एक सूची सार्वजनिक गर्दै डीएसपीहरूको जिम्मेवारी हेरफेर गरेको हो।
००००
नेपाल प्रहरीले एकैपटक ४६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा तथा काज कार्यभार हेरफेर गरेको छ।
 प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रबार एसपीहरूको नयाँ पदस्थापन सूची सार्वजनिक गरेको हो।

salt training

कमेन्ट गर्नुहोस्