
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक शृङ्खलामा नेपालले बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे शुरू हुनेछ ।
सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित निकाल्ने दाउमा छ । नेपाली टोलीले यसअघि नै बलियो पुनरागमनको संकेत दिएको छ । नेपालले शनिबार अमेरिकामाथि एकपक्षीय र सानदार जित निकाल्दै आफ्नो लय समातेको हो । विशेषगरी नेपाली टोलीको लामो समयदेखिको मुख्य कमजोरीका रूपमा हेरिँदै आअमेरिकाविरुद्धको खेलले नयाँ आशा र आत्मविश्वास जगाएको छ ।
टप अर्डर लयमा फर्किँदा मध्यक्रमको दबाब कम हुने र ब्याटिङमा सन्तुलन आउने अपेक्षा छ ।
नेपालले घरेलु मैदानमा खेलेका पछिल्ला ६ खेलमध्ये ४ खेलमा जित हात पारेको छ र बाँकी रहेका दुई खेल जितेर अंकतालिकामा माथि उक्लने दाउमा छ । यद्यपि, सोमबार नेपालको अगाडि उभिएको स्कटल्यान्ड हाल निकै उत्कृष्ट लयमा देखिएको छ ।
जारी शृङ्खलामा नेपाल र अमेरिका दुवैलाई समान २ रनको झिनो अन्तरले पराजित गर्दै स्कटल्यान्डले लगातार दुई जित दर्ता गरिसकेको छ ।
यही लगातारको जितसँगै स्कटल्यान्ड ३० खेलबाट ३८ अंक जोड्दै लिग २ को शीर्ष स्थानमा उक्लिएको छ । शृङ्खलाअघि शीर्ष स्थानमा रहेको अमेरिका २६ खेलमा ३६ अंकका साथ दोस्रो स्थानमा झरेको छ भने नेपाल २६ खेलमा २० अंक जोडेर सातौँ स्थानमा खुम्चिएको छ ।
सोमबार स्कटल्यान्डलाई पराजित गर्न सके नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लनेछ, जसका लागि पछिल्लो समय लयमा रहेको स्कटल्यान्डलाई रोक्नु नेपालको मुख्य चुनौती र आवश्यकता दुवै हुनेछ ।
नेपाल र स्कटल्यान्डबीचको प्रतिस्पर्धा सधैँ रोमाञ्चक र बराबरीको रहने गरेको छ । यी दुई टोलीबीच भएका कुल एकदिवसीय खेलहरूमा नेपालले ५ खेल जित्दा ५ खेलमै पराजय भोग्नुपरेको छ । पछिल्लो पटक गत मंगलबार भएको खेलमा पनि नेपाल स्कटल्यान्डसँग मात्र २ रनले चुकेको थियो भने त्यसअघि स्कटल्यान्डकै मैदानमा भएको खेलमा पनि नेपाल २ रनकै अन्तरले पराजित भएको थियो ।